खाँदबारी । प्रथम गुड ब्वाइज ब्याडमिन्टन प्रतियोगिताको १२ वर्षमुनि उमेर समूहअन्तर्गत छात्रातर्फ रुविका विष्ट तथा छात्रतर्फ मिङ्मा शेर्पा विजयी भएका छन्। गुड ब्वाइजको आयोजनामा सम्पन्न प्रतियोगितामा मदरल्याण्ड बोर्डिङ स्कुलका विष्ट र शेर्पाले उपाधि जित्न सफल भएका हुन्।
सङ्खुवासभाको खाँदबारी–१ स्थित सोमनाथ मेमोरियल कभर्ड हलमा सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ सूर्य बोर्डिङ स्कुलकी सायुना घिमिरे र छात्रतर्फ अमन विक्रम श्रेष्ठ उपविजेता बने । छात्रातर्फ सूर्य बोर्डिङ स्कुलका टेरिया श्रेष्ठ र प्रशंसा भट्टराई तथा छात्रतर्फ हिमालय माविका केशर दाहाल र अंकित पोख्रेलले सान्त्वना स्थान हासिल गरे।
प्रतियोगिताका विजेताले ३ हजार रुपैयाँ, उपविजेताले १ हजार ५ सय रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने दुई खेलाडीले जनही ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। साथै, यस समूहका सम्पूर्ण सहभागीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको गुड ब्वाइजका अध्यक्ष पालु लामाले जानकारी दिए। बालबालिकामा खेलप्रति उत्साह बढाउन सबै सहभागीलाई सम्मान गरिएको उनले बताए। प्रतियोगिताका विजेताहरूलाई समापन समारोहका प्रमुख अतिथि खाँदबारी–१ का वडा अध्यक्ष निरञ्जन श्रेष्ठ तथा अन्य विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।
यसैगरी प्रतियोगितामा मदरल्याण्ड बोर्डिङका रुप्सन विष्ट र प्रणव पोख्रेल मगर ‘उदीयमान खेलाडी’ घोषित भए। रितु राई ‘सर्वोत्कृष्ट खेलाडी’ तथा प्रशन पोख्रेल मगर ‘अनुशासित खेलाडी’का रूपमा पुरस्कृत भए।
खाँदबारी क्षेत्रमा ब्याडमिन्टन खेलको विकाससँगै बालबालिका तथा युवामा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक मनिष श्रेष्ठले बताए। १२ वर्षमुनिको उमेर समूहमा छात्रातर्फ ४० र छात्रतर्फ १०० जना खेलाडी सहभागी थिए। प्रतियोगिता जेठ ३० र ३१ गते सञ्चालन भएको थियो।
खुला पुरुष ‘सी’ डिभिजनतर्फ राजु–प्रदिपको जोडी विजेता
प्रतियोगिताअन्तर्गत खुला पुरुष ‘सी’ डिभिजनतर्फ राजु राई र प्रदिप राईको जोडीले उपाधि जितेको छ। फाइनलमा रुपेश दास दर्जी र ज्ञानबहादुर तामाङको जोडी उपविजेता बने। त्यसैगरी पर्विराज कुलुङ–ठिलेन कुलुङ तथा अनमोल श्रेष्ठ–अर्विन श्रेष्ठको जोडीले सान्त्वना स्थान हासिल गरे।
विजेता टोलीले १० हजार रुपैयाँ, उपविजेता टोलीले ५ हजार रुपैयाँ तथा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही २ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुला पुरुष ‘सी’ डिभिजनमा २७ जोडीको सहभागिता रहेको आयोजकले जनाएको छ।