खाँदबारी । शल्यक्रिया गरी प्रसूति गराइएकी एक सुत्केरीको पेटभित्र गज (टालो) भेटिएको घटनाले सङ्खुवासभामा स्वास्थ्य सेवाको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ। सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ निवासी सविता मगरको पेटभित्र शल्यक्रियापछि गज भेटिएको हो।घटनापछि पीडित परिवारले दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्तिको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल सङ्खुवासभा र खाँदबारी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
परिवारका अनुसार जिल्ला अस्पताल सङ्खुवासभामा जेठ ११ गते सविता मगरको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्राव भएपछि सोही दिन राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत काठमाडौँस्थित थापाथली प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको थियो।
सविताका श्रीमान् सविन मगरका अनुसार थापाथली अस्पतालमा उपचारपछि रक्तस्राव नियन्त्रणमा आएपछि डिस्चार्ज गरिएको थियो। तर घर फर्किएपछि पनि पेट दुख्ने र ज्वरो आउने समस्या नरोकिएपछि थप उपचारका लागि उनलाई काठमाडौँकै पाटन अस्पताल लगिएको थियो। “पाटन अस्पतालमा सिटी स्क्यान गर्दा पेटभित्र कुनै वस्तु रहेको आशंका गरियो। त्यसपछि पुनः शल्यक्रिया गर्नुपर्ने बताइयो,” सविन मगरले भने, “शल्यक्रियाका क्रममा पेटभित्र कपडाको टालो भेटिएपछि हामी स्तब्ध भयौं।”उनका अनुसार करिब १५ दिनसम्म पेटभित्र गज रहँदा सङ्क्रमण फैलिएको स्वास्थ्यकर्मीहरूले बताएका थिए। जेठ २२ गते उक्त तथ्य पत्ता लागेपछि जेठ २४ गते पुनः शल्यक्रिया गरी गज निकालिएको थियो। हाल सविताको उपचार आइसियुमा भइरहेको परिवारले जनाएको छ।पीडितका आफन्त रुपा गिरीले खाँदबारी अस्पतालले रेफर गर्दा बिरामीको पेटमा गज राखिएको विषयमा कुनै जानकारी नदिएको आरोप लगाइन्।“म बिरामीसँगै हेलिकोप्टरमा काठमाडौँ पुगेकी थिएँ। रेफर कागजमा पनि गजबारे कुनै उल्लेख थिएन। सँगै गएका स्वास्थ्यकर्मीले समेत यस्तो जानकारी दिएका थिएनन्,” उनले भनिन्।
स्थानीयका अनुसार यसअघि पनि जिल्ला अस्पताल सङ्खुवासभामा यस्तै प्रकृतिको घटना भएको थियो। पाँचखपन नगरपालिका–६ निवासी ३१ वर्षीय तारा भण्डारीको पेटभित्र पनि शल्यक्रियापछि गज भेटिएको थियो।
यता जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष देवले घटनाप्रति दुःख व्यक्त गर्दै उपचारकै क्रममा रक्तस्राव नियन्त्रण गर्न पेटभित्र गज राखिएको स्वीकार गरेका छन्। “आमा र शिशुको अवस्था अत्यन्त जटिल थियो। ज्यान जोगाउने उद्देश्यले रक्तस्राव रोक्न गज प्रयोग गरिएको हो,” डा. देवले भने। उनका अनुसार बिरामीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो र त्यस क्रममा अस्पतालमै चार पिन्ट तथा हेलिकोप्टरमा दुई पिन्ट रगतसमेत दिइएको थियो। डा. देवले रेफर गरिएको अस्पतालले थप उपचारका क्रममा गज निकाल्नुपर्ने भए पनि त्यसो हुन नसक्दा समस्या बढेको दाबी गरे।“हामीले ज्यान जोगाउने उद्देश्यले काम गरेका हौं, कुनै गलत नियतले होइन। अस्पतालहरूबीचको सञ्चार र समन्वयमा कमी हुँदा यस्तो त्रुटि भएको हुन सक्छ,” उनले भने।
घटनाबारे सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितलाई न्याय दिलाउन परिवारले माग गरेको छ।