खाँदबारी । प्रथम संस्करणको सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार क्लब र काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न पहिलो खेलमा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै न्यु स्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
निर्धारित खेल समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा आयोजक एड्भान्सका अनिष आरडीले प्रहार गरेको बल न्यु स्टारका गोलरक्षक विश्वास चौधरीले उत्कृष्ट बचाउ गरेपछि न्यु स्टार विजयी भएको हो। खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा आयोजक टोली प्रतियोगिताबाट बाहिरिन पुगेको छ। खेलको प्लेयर अफ द म्याच न्यु स्टारका गोलरक्षक विश्वास चौधरी घोषित भए।
त्यस्तै, सोमबार नै सम्पन्न दोस्रो खेलमा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडले खाँदबारी युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। प्लानिङ ब्वाइजका कप्तान फागुराम थारूले दोस्रो हाफको तेस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो। उक्त खेलको प्लेयर अफ द म्याच फागुराम थारू घोषित भए।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा सलेश युवा क्लब र लोहोरुङ क्लब पाँमा आमनेसामने हुनेछन्। दोस्रो खेलमा झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, डिफेन्डर र फरवार्डले जनही सात हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) को आयोजनामा खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ। कार्तिक १४ गतेदेखि सुरु गर्ने तय भएको प्रतियोगिता भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि निर्धारित मितिमा सञ्चालन हुन सकेको थिएन। त्यसपछि सोमबारदेखि २० कात्तिकसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिए।
सङ्खुवासभा गोल्डकपको उद्घाटन खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले गरेका थिए।