(खाँदबारी नगरपालिका अन्तर्गत पाठकधारा टोलविकास संस्थाले तयारगरेको प्रस्तुत कृति ज्येष्ठ नागरिक आवाज मा प्रकाशित मान बहादुर कट्टेलको जीवन–अनुभव र धुपूको इतिहास । जन्म १९९३ साल मङ्सिर १९ मृत्यु २०८३ भाद्र ७ । “सङ्खुवासभा जेष्ठ नागरिक आवाजमा प्रकाशित उहाँको लेख, निधनपछि झनै महत्वपूर्ण दस्तावेजका रूपमा” रहने छ )
विकास र समृद्धि देखेर चकित भएको छु
मेरो नाम मानबहादुर कट्टेल । जन्म १९९३ साल मङ्सिर १९ गते शुक्रबार चैनपुर इलाका थुम सभा उत्तर धुपू कट्टेल गाउँ । श्रीलालको नाति । रुपनारायणको छोरा । उमेर ८३ वर्ष । इतिहास केलाउँदा हाम्रा पितापुर्खा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका क्रममा उनकै अघिपछि लागेर हिँड्दा यस ठाउँमा आइपुगेका हुन् । हाम्रो पुख्यौली थलो गोरखाको कट्टेल डाँडा हो । मैले बुझेअनुसार हाम्रा पुर्खा उमापति, श्रीलाल, रुपनारायण र मलगायत मेरा छोरा, नाति, पनातिहरुसम्म यहाँ छौं । पुरानो लिखत स्रेस्ता हेर्दा १९५० सालको जग्गा नापी तिरो (मालपोत) रसिदमा श्रीलाल दर्ता भएका घरजग्गाको अभिलेख हामीसँग छ । उक्त स्रेस्तामा कट्टेल गाउँ भनी साबिक धुपू गाविस वडा नं. १ भनेर कट्टेलहरुको ऐतिहासिक पहिचान कोरिएको छ । हाम्रा पुर्खाहरुले धुपू देउरालीसम्म जग्गा–जमिन भोगचलन गरेकाले यस ठाउँलाई कट्टेल डाँडा गाउँटोल भनिएको छ । मतदाता नामावलीमा समेत यो ठाउँको नाउँ उल्लेख छ । म एक वर्षको हुँदा पिता रुपनारायण बित्नुभएछ । मेरा दुइटी आमाका चार छोरा र दुई छोरीमध्ये म सबैभन्दा कान्छो हुँ । सबै दाजुदिदीहरुको निधन भइसक्यो । मेरी आमा बाटुलीमायाको २०३७ सालमा निधन भयो । मैले आमाको मात्रै काजकिरिया गरें । मेरी पत्नी विष्णुमायाका साथ २ छोरा र एक छोरी छन् । छोराहरु ओम र भीम शिक्षक पेसामा छन् । छोरी सामान्य गृहस्थी जीवन बिताइरहेकी छन् । मेरो पेसा खेतीकिसानी हो । धुपूको परिचय सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीदेखि पूर्व (६ कोस) अवस्थित धुपू गाउँको आफ्नो पहिचान र महत्व छ । धुपू नाम कसरी भयो भन्नेबारेमा मलाई यकिन थाहा छैन । मैले सुनेअनुसार आदिमकालमा धुपूकै डाँडामा स्थानीयले संसारी पूजा इन्द्रपूजा गरी धूप हाल्थे । त्यसरी पूजा गर्दा धूप डाँडा भन्दाभन्दै पछि धुपू डाँडा भई धुपू गाउँ रहेको हो । अर्को कुरा, यस ठाउँमा पहिले लोहरुङ राईहरुको बसोवास थियो । राई भाषामा बाबु/बडाबाबुलाई धेप्पा/आप्पा भन्ने चलन थियो । बडाबाको घर जानेआउनेहरुलाई कहाँ गएको र कहाँबाट आएको भनेर सोध्दा धेप्पा भन्थे । सबैले धेप्पा धेप्पा भन्दाभन्दै अपभ्रंश भई धुपू हुन गएको भन्ने भनाइ छ । पूर्व र दक्षिण दिशामा बग्ने सभाखोला र पश्चिममा पाङ्ठा खोला र उत्तरपट्टि मत्स्यपोखरीको बीचमा धुपू पर्छ । यो भूमिको मोहोडा पूर्वपट्टि फर्किएको छ । ९०० देखि १००० मिटरको उचाइमा रहेको यो गाउँ गोरु जुरे, सभापोखरी हिमाल, धुपूसेरा, साँदी मौरेनी बेंसीहरु, बाह्रबिसे बजार, हरेलो, ज्यामिरे, वितलब, लेब्राङ आदि यहाँको उर्वर र महत्वपूर्ण ठाउँ हुन् । धार्मिक एबं पर्यटकीय रुपमा पनि धुपू महत्वपूर्ण छ । यस गाउँमा विभिन्न जातजातिको बसोवास छ । राई, मगर, क्षेत्री, बाहुन, तामाङ कामी, दमाई आदिको बसोवास छ ।
यहाँका मानिसहरुको मुख्य पेसा कृषि हो । हाल जागिरे/नोकरी, व्यापार पनि फस्टाउँदै गएको छ । धुपूमा खेतीयोग्य जमिन प्रशस्त भएकाले यहाँको धान खेती प्रमुख बाली हो । यहाँको चामल पहिले खाँदबारी, धनकुटासम्म पुर्याउँथे । अहिले माथिल्लो क्षेत्रमा अलैंची, अम्रिसो, सागपात, आलु, गहुँ, तोरी, कोपी आदिको उत्पादन हुन्छ भने हाल रुद्राक्ष (दाना) यहाँको प्रमुख आयस्रोत बनेको छ । विगतमा गाउँघरका सबै मानिस खेतीकिसानी थिए । अहिलेजस्तो बाटोघाटो, विद्यालय, पुल, सडक केही थिएन । सर्वसाधारणको दिनचर्या हलो, कोदालो, गोठालो, खेतालो र मेलापातमा बित्थ्यो । हाम्रो गाउँ समाज एक अन्धकार र निरीह अवस्थामा गुजे्रको महसुस हुन्छ । राजनीतिक हिसाबले २००० सालदेखि सरकारी प्रशासनिक कार्य केही थिएन ।
बाल्यकाल
२००० सालतिरको कुरा हो, म सातआठ वर्षको हुँदा वनतरुल खन्न साथीहरुलाई पछ्याउँदै गएँ । बेलुका घर आएपछि दायाँ खुट्टा दुखेर टेक्नै भएन । लगभग एक वर्षसम्म घुँडा तन्काउन भएन । कुँजिएजस्तै भयो । उपचार र औषधि केही थिएन । पछाडि कुसुवाका एकजना लिम्बू थरका बूढा मान्छे (पुजारी) ल्याई झारफुक गर्न लगाइयो । निको पारेमा पाँच रुपैयाँ दिने वचन पनि दिइएको थियो । उनले बान्द्रेका पात र बाघको हड्डी घोटेर लगाइदिए ।
तीनपटकसम्म झारफुक गरेपछि आफसेआफ निको भयो । पूरै निको पारेपछि मात्र पैसा लान्छु भनेर घर फर्केका उनी फेरि कहिल्यै आएनन् । खोजी गर्दा बेपत्ता भएको खबर पाउँदा मलाई नरमाइलो लाग्यो । उनले मलाई पुनर्जन्म दिएजस्तै लाग्यो । गाउँघरमा हुर्केबढेपछि गोठालो (गाई, भैंसी, बाख्रा) जानुपथ्र्यो । गोठालो जाँदा साथीहरुसँग विभिन्न खेल खेलिन्थ्यो । हाडीगुडी, भेडीगाँठो डण्डीबियो, गिर, झ्याम्ली झ्याम्ली पेटारी, कुस्ती, फाल हान्ने, हनुमाने, कुकु–देखे, खोपी आदि खेल खेलिन्थ्यो । हामी दिनभरि यी खेल खेल्थ्यौं । केही समयपश्चात् २०१० सालमा म छिमेकीसँग आसाम जाने क्रममा धरान हुँदै काँकडभिट्टासम्म हिँडेर गएँ । त्यहाँ नै पहिलोपटक गाडी देखेको याद छ । पुसको दिन ठण्डी थियो । कपडा पातलो खाँडीको हुन्थ्यो । जुत्ता, चप्पल थिएन । पैदल हिँड्नु पथ्र्यो । नक्सालबाट आसाम (डिक्राई) सम्मको भारु नौ रुपैयाँ भाडा तिर्नुपथ्र्यो । आसाममा सबै जङ्गल थियो । जङ्गल फाँडेर उखु खेती लगाएको थियो । मेरा दुई दाजुले पनि उखु खेती गर्नुहुन्थ्यो । दाजुहरुसँग कुयर काट्ने, पेल्ने, मिठाई बनाउने, बेच्न लाने गर्नुपथ्र्यो । त्यतिबेला एक टिन मिठाई (सक्खर) को सात रुपैयाँ थियो । घरमा हुँदा बूढापाकाहरुले आसाममा त रुखमा पैसा फल्छ, टिप्न पाइन्छ भनेको सुनेको थिएँ । त्यहाँ पुगेपछि पैसाको रुख सोध्दा त सबैजना हाँसे । परतिर ठूलो सुकेको रुख देखाए । उ त्यो रुख काटेर दाउरा चिर । बेच । पैसा फल्छ भन्दिए । म जिल्ल परें । एक वर्षपश्चात् घर फर्किएँ । गाउँका मानिस आसाम गएर पैसा कमाउँथे । गाउँमा आएर खेतबारी किनी गृहस्थ जीवन चलाउँथे । १९ सालतिर भारतको दार्जिलिङ, कालिम्पोङ घुम्न गएँ । त्यसबेला बाटो खन्ने काम पाइन्थ्यो । गाउँका साथीहरुसँग मैले पनि २/३ महिना बाटो खन्ने काम गरें । तलब महिनामा भारु ८२ रुपैयाँ थियो । कालिम्पोङतिर त्यसबेला बिजुली थियो । त्यहाँबाट कसैकसैलाई भारतीय पाइन्डर सेनामा पनि भर्ती गराउने चलन थियो । मेरा केही साथीले पाइन्डर भएर नोकरी पनि गरे ।
त्यसबेलाको त्यहाँको दरभाउ
जुल्फी/जेरी १ पावा ८ आना
सिङ्गडा ८ वटा १ रुपैयाँ
नरिवल मिस्री ८ आना
मैले थाहा पाएसम्म यहाँ किनबेच हुने सामानको दरभाउ यस प्रकार छ–
१. हल गोरु रु. १००/– २. दुहुना भैंसी रु. १००/–
३. धान प्रतिमुरी रु. ७/– ४. घिउ प्रतिमाना ८ आना
५. खसीको मासु प्रतिधार्नी रु. २/– (धानमा प्रतिधार्नी १० पाथी) ६ फाली/ कोदाली ५ सुका
७. सलाई ५ पैसा ८. पेपर ५ पैसा मुठा
९. मट्टीतेल प्रतिटिन रु. ९/– प्रतिमाना ४ आना (२५ पैसा) १०. नुन आधा बोरा (१२ पाथी) रु. ७।–
११. खेताला एकजनाको ४ आना जग्गा–जमिन २० मुरी फल्ने पानी पुग्ने खेत रु. ५००/–
कपडा
खाँडी कपास छरेर आफैंले धागो काती घरमा बुनेको लुगा
कोगटी. स्तरीय खाँडी
गौन. सेम्फेरेस
राजनीतिक र प्रशासनिक अवस्था
पञ्चायतकालअगाडि २०१७ सालअघि यस गाउँको ठेगाना पूर्व ६ नम्बर चैनपुर इलाका थुम सभा उत्तर धुपू भन्ने गरेको मलाई थाहा छ । कागजी स्रेस्तामा पनि सोही भेटिन्छ । अड्डाअदालत, जग्गा, राजीनामा, धितो बन्धक पास गर्न चैनपुर जानुपथ्र्यो । गाउँमा राई जिम्मावाल, थरी, मुखियाहरुले जग्गाको तिरो मालपोत बुझ्ने गर्थे । गाउँमा झैझगडा वा कलह भएमा जिम्मावालहरुले झिकाई छलफल र कारबाहीसमेत गर्थे । मुखियाका घरमा ठिङ्गुरा हाल्ने (फटाहालाई कारबाही) चलन थियो । ठिंग्रो मुङ्ग्रो भन्ने चलन थियो । राई मुखियासँग सर्वसाधारणले डराउनुपथ्र्यो । धुपूका जिम्मावाल मुखियाहरु २००० सालसम्म थिए–
माथिल्लो धुपू
ऐमान, टीकाराम राई गौरीशङ्कर कोइरालासमेत गोश्वारा जिम्मावाल ।
धुपू सुनखानी क्षेत्र भनिन्थ्यो । त्यसपछि ताराहाङ राई, जुद्धबहादुर राई, पर्बाखर कोइराला आदि ।
तल्लो धुपूमा
१ भवानीप्रसाद पन्त (तबिल्दार) २. शेरबहादुर राई/ताराध्वज राई थरी, मुखियाहरु रत्नबहादुर राई, देवीभक्त पन्त जग्गाको तिरो (मालपोत) प्रति माटो मुरी एकको ५ पैसा तिर्नुपथ्र्यो ।
मुद्रा
पैसा अहिलेजस्तो कागजी नोट थिएन । भारु, ढक्की पैसाहरु चलाउने गरिन्थ्यो । तामा/पित्तलका पाँच पैसा, एक पैसा, एक आना, रुपैयाँ, मोहोर, आठ आनाजस्ता मुद्राहरु थिए । ६ पैसाको एक आना हुन्थ्यो ।
धनी महाजन साहुहरु
अधिकांश मानिसहरुको पेसा खेती भए पनि त्यसबेला किसानहरुले साहुहरुसँग ऋण खाएर पैसाको ब्याज धान तिर्नुपथ्र्यो । रु. १०० ऋण छ भने मङ्सिरमा ३० पाथी ब्याज तिर्नुपर्ने नियम थियो । आफ्नो कमाइबाट खान नपुगेमा धान पनि पचिसो खानुपथ्र्यो । १४ पाथी धान ल्याएबापत मङ्सिरमा १ मुरी (२० पाथी) तिर्नुपथ्र्यो । ठेकी पाथी लिन्थ्यो । धान बोकेर साहुका घर वा धनसारमा पुर्याउनुपथ्र्यो । एउटा साहुसँग ऋण गरेपछि अर्को साहुसँग सस्तो ब्याजमा पाए फेरबदल गर्न नपाइने । पैसा बुझाउँदा कहाँबाट ल्याइस् भनेर सोध्ने । आफैंले कमाएको भन्दा के गरेर कमाइस् स्रोत देखाउनुपर्ने । होइन अर्को साहुबाट सस्तो ब्याजमा ल्याएँ भन्दा पैसा नबुझ्ने । यस्तो निरङ्कुश प्रथा भोगियो । हामी किसानको दिनचर्या, बर्खा लाग्यो कि बाँझो जोत्ने, मल बोक्ने, मकै छर्ने, धानको बीउँ राख्ने, खनजोत गर्ने, धान रोप्ने, गोडमेल गर्ने, मङ्सिर लागेपछि धान काट्ने, बिटा लगाउने, दाइँ गर्ने कामको चक्र घुमिरहन्थ्यो । हिउँदमा धेरै कुराको जोहो नगरी धरै हुँदैनथ्यो । गोरु किनबेच गर्ने, साटासाट गर्नेदेखि हलो, अनौ, जुवा काट्ने तथा अँगेनाछेउमा मुढाको आगो ताप्दै निदालबाट तोस्रो झिकेर ओदालको पाट, बाबियो, हात्तीबारको पाट, चोस जे छ, त्यो झिकेर पोया लगाउँदै गफ गर्दै १०–११ बजेसम्म भैंसी, गाईगोरु बाँध्ने दाम्लो तथा भारी बाँध्ने नाम्लो, जोतारो आदि तयार गरिन्थ्यो ।
घरमा ८–१० जनाको जहान हुन्थ्यो । हरेक घरपरिवारले २–३ वटा भैंसी, एक हल गोरु २ वटा गाई, १२–१५ वटा बाख्रा पालेकै हुन्थे । हिउँदमा गोठ नलगी परालले धान्न सकिँदैनथ्यो । पात्रो हेरी साइत जुराई गोठधूप गरिसकेपछि तिथि राम्रो जुराई भद्रा तिथि छली सामलतुमल, गुन्द्रुक पोको पकाउने, पस्किने, राडीपाखी, ओढ्ने–ओछ्याउनेको भारी डोकोमा हालेर वस्तुको लस्कर बेंसीतिर लगाउँदै गोठ झारिन्थ्यो । गोठाले जीवन अति रमाइलो हुन्थ्यो । ३–४ भाइ एउटै गोठमा बस्तु राख्नु पथ्र्यो । गोठाले जीवनको दिनचर्या लैना गाईबस्तु र बाच्छा–पाडालाई घाँस जोहो गर्नु, दिउँसो खोला खेल्नु, तरुल, भ्याकुर खनेर तरकारीको जोहो गर्नु, माछा मारेर ल्याउनु, खीर पकाएर खानुजस्ता कार्यमा दिन व्यतीत हुन्थ्यो । चैत लागेपछि गोठ घरमा फिर्ता ल्याइथ्यो । गोठ राख्दाको क्षणमा धेरै दुःख पनि व्यहोर्नुपथ्र्यो । माघे झरी पर्दा राति पानी पर्दाको बिचल्ली यहाँ शब्दद्वारा बयान गर्न सकिँदैन । आफ्नो खेतीले चाडपर्वमा नुन, तेल सबैथोक नपुग्ने अनि साहुसँग ऋण काढेर व्यवहार चलाउनुपर्ने । केही वर्षमा ब्याज तिर्न नसकेमा सबै घरजग्गा साहुलाई धितो बन्धकी पास गरेर मुग्लान, आसाम, सिलाङतिर भासिनुपर्ने बाध्यता थियो । धुपू क्षेत्रमा निम्न साहुले भोगचलन गरेका थिए ः
१. भोलामान साहु ..चैनपुर
२. विचारी बाजे ..वाना
३. गोबा साहु.. सिभुवा
४. रुकी दहाल्नी, नरपति, पुष्पलाल दाहाल.. स्याबुन (वाना, स्याबुन, सिभुवा) पाँचखपन भन्ने चलन थियो ।
साहुका आआफ्ना धनसार थिए । हाल धुपूको देउराली आले गाउँमा धनसार, पावा खोक्राङतिर पनि धनसार थिए । धुपूका स्थानीय पनि सानातिना महाजन थिए ।
१ जुद्धबहादुर राई
२ बलबहादुर पन्त
३. काजीमान विश्वकर्मा (ज्योतिषी)
४. प्रभाकर कोइराला
शैक्षिक स्तर र विकास
मैले थाहा पाउँदा अहिलेजस्तो पढ्ने ठाउँ विद्यालय कहीं थिएनन् । गाउँघरका टाठाबाठाहरु भारततिर गएर सामान्य लेखपढ (साक्षर) गरी आउँथे । उनीहरुले सामान्य लेखापढी कपाली तमसुक, घयायसी अंशबण्डा, तिरो रसिद लेख्ने गर्थे । लेख्ने कापीकलम थिएन । बाँसको कलम बनाएर मसी आफैंले मुसुरेको पात, अँगेरी पकाएर बनाई पहाडे कागज (नेपाली कागज) मा लेख्ने चलन थियो । बाहुनका छोरा भारतका काशी, बनारस हरिद्वारतिर गएर वेद, गीता, कौमुदी, भागवत अध्ययन गरी कर्मकाण्ड गर्थे । त्यसबेला जयप्रसाद दाहाल (दाहाल पण्डित) हेमराज नेपाल, (नेपाल पण्डित) थिए । उनीहरुसँग अन्य भुवराज दाहाल, ओमकार भट्टराई, माधव काफ्ले आदिले पढ्थे । कोही दिङ्ला गएर बालागुरु षडानन्द संस्कृत विद्यालयमा पनि पढेर जजमानी पुरेत काम गर्ने भएका थिए । बाहुनको छोराले हलो जोत्नु हुँदैन भन्ने नियम थियो । मैले २००३ सालतिर आफ्नै गाउँका शेरबहादुर कट्टेल, बीरबहादुर कट्टेल, नुमाली भट्टराई (पुरोहित) सँग राति दाउरा, भाटा बालेर क, ख, ज्ञ पढें । कापीकलम थिएन । काठको फलेकमा धुलो माटो राखेर सिन्काले क, ख लेख्न सिकें । सामान्य किताबका सामान्य क, का, कि, की (बाह्रखरी) सिकें र किताबका सामान्य अक्षर पढ्न सक्ने भएँ । यो नै मेरो ठूलो भाग्य बन्यो । ठूलो वर्णमाला किताब पनि थियो । आज पनि म फुर्सदमा धर्मशास्त्रका छपाइ अक्षरहरु भएका पुस्तक सामान्य पढ्न सक्छु । रामायण, गुणरत्नमाला, अर्जुनगीता, देवीभागवत, कृष्णचरित्र, महाभारतजस्ता ग्रन्थहरु पढ्ने गर्छु । यसबाट मलाई निकै ज्ञान, अनुभव र आध्यात्मिक चिन्तन प्राप्त भएको छ । गुणरत्न मालामा भनिएको छ–
विद्या यै नरको छ रुप भरिलो यही सम्झ गुप्ती धन ।
विद्याले सुख भोग मिल्ला र सखे सुध्रन्छ भित्री मन ।
०१७ सालमा गाउँका भद्रभलाद्मीहरु जुद्धबहादुर राई, ताराहाङ राई, जयप्रसाद दाहाल, हेमराज नेपाल, नन्दलाल पन्त, बलबहादु पन्त, डिल्लीमान राई, पूर्णकुमार राईलगायतका व्यक्तिहरुले पाठशाला खोल्ने क्रममा पँधेराटार, मारुनीडाँडा, माथिल्लो धुपूको बरडाँडा, सिठुङ्गेडाँडातिर ठाउँ सार्दै सामान्य लेखपढ गर्ने व्यवस्था मिलाएका थिए । पढ्ने भवन किताब कापी थिएन । आफैं पिरा, गुन्द्री, खरी, पाटी लिएर जानुपथ्र्यो । हाल त्यही पाठशाला श्री जनज्योति माध्यमिक विद्यालय धुपू हो । यस विद्यालयको स्थापनापछि २०१७ सालतिर भयो । गाउँका अधिकांश केटाकेटीहरुले पढ्ने अवसर पाए र हाल धुपू गाउँ शिक्षा क्षेत्रमा अब्बल बन्दै गएको छ । धुपूलेहरु शिक्षक, कर्मचारी प्रत्येक घरबाट भएका छन् । मलाई पनि शिक्षाको महत्व बढी थियो । आफूले पढ्ने अवसर नपाए पनि छोराछोरीलाई पढाएर शिक्षित बनाउन पाएकोमा सन्तुष्ट छु । २०६९ सालमा यस विद्यालयमा रु. २०,५०० रुपैयाँको हामीले मानबहादुर तथा विष्णुमाया अक्षयकोष स्थापना गरिदिएका छौं र यसको ब्याजबाट वार्षिक रुपमा आर्थिक रुपमा पछि परेका, विपन्न र जेहेनदार विद्यार्थीलाई पुरस्कार दिने व्यवस्था मिलाएका छौं । आर्थिक विपन्न वर्गलाई पनि शिक्षाको अवसर प्राप्त होस् भनेर यो अक्षयकोष स्थापना गरिएको हो र भविष्यमा अझ यसमा थप गरी व्यवस्थित गर्दै लाने लक्ष्य राखिएको छ । हाम्रा पालामा पढ्ने रहर र उत्साह हुँदा पनि पढ्ने अवसर नपाउनु दुःखको कुरा हो । अहिले हेर्दा बालबालिकालाई किताबको भारी बोकाएर स्कुल, बोर्डिङ पढाउँदा उतिखेरको तुलनामा शिक्षाको अतुलनीय विकास भएजस्तो लाग्छ ।
रीतिस्थिति, धर्म र भाषा
अहिलेभन्दा धर्म, संस्कार र रीतिस्थिति निकै कडा र नियमित थियो । आफ्नो धर्म र परम्पराको मान्यता बढी नै थियो । मेरो विचारमा धर्म एउटा कानुन नै हो । धर्मले कुनै व्यक्तिलाई कुकार्य गर्नबाट बचाउँछ । यसो गर्नु हुँदैन पाप लाग्छ भन्ने मान्यताले खराब कामबाट बचिन्छ । सबैले आफ्नो धर्म र संस्कारको संरक्षण गर्नुपर्छ । आफ्नो पहिचान र अस्तित्व भुल्नु हँुदैन । उहिले जातभात र छुवाछूतको प्रचलन थियो । बाहुन सबैभन्दा उच्च जाति मानिन्थ्यो । बाहुनका छोराले हलो जोत्न हुँदैन भन्ने चलन थियो । उनीहरु पढ्ने, अध्ययन गर्ने र पण्डित पुरोहित बन्ने गर्थे । क्षेत्रीहरु खेतीपाती गर्थे । बाहुनले अरु कसैले छोएको, पकाएको खाना खाँदैनथे । खाना पकाउँदा खाँदा छुट्टै धोती कछाड फेरेर खानुपथ्र्यो । क्षेत्रीहरुले टोपी झिकेर खान्थे । दमाई, कामी (दलित) हरुलाई कसैको घरभित्र पस्न निषेध थियो । हाटबजार र बाटामा समेत उनीहरु तर्किएर छेउतिर लाग्नुपथ्र्यो । कामी (विश्वकर्मा) हरु सुन/फलामको काम गर्थे भने दमाई (दर्जी) कपडा सिलाउने र बाजा बजाउने गर्थे । सार्कीहरु छालाको काम गर्थे । मलाई यो चलनचाहिँ त्यतिसाह्रो मन पर्दैनथ्यो । हाल यस्ता चलनमा धेरै सुधार भएको महसुस हुन्छ । आखिर सबै उस्तै मान्छे, आफ्नो पेसा, व्यवसाय गर्दा ठूलो र सानो छुट्ट्याउने चलन ठीक होइन । हाम्रो समाजमा विभिन्न चाडपर्व मनाइन्छ । जस्तै– दसैं, तिहार, माघे सङ्क्रान्ति, बालाचतुर्दशी, न्वागी, मङ्सिरे पूर्णिमा, चैते दसैं, वैशाख पूर्णिमा, साउने सङ्क्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा, तीज आदि । दसैंमा खसी काट्ने मासु खाने, नवमीमा मार हान्ने चलन थियो । मार हानेको हेर्न वारिपारिबाट धुपूमा आउँथे । रमाइलो गर्थे । दमाईले पञ्चेबाजा बजाउँथे । बन्दुक पड्काउँथे । मालसिरी गाउँथे । बोका, सुँगुर, काटेर खान्थे । भोजभतेर लगाएर रमाइलो गर्थे । दशमीमा विजयादशमीको टीका लगाउँदै ठूलाबडा र मान्यजनबाट आशीर्वाद लिन्थे । राई जिम्मावाल, थरी र मुखियाहरुकहाँ साँप्रो, केराको काइँयो, अन्य कोसेली बोकेर टीका लगाउन जान्थे । गाउँगाउँमा चर्के पिङ, लिङ्गे पिङ थापेर खेल्थे । यसरी दसैंमा सबै जातजातिले रमाइलोका साथ दसैं मनाउँथे । तिहारमा पनि उत्तिकै रमाइलो हुन्थ्यो । सेलरोटी पकाएर खाने, फूलमाला लगाउने, काग, कुकुर, गाई, गोरुको पूजा गरिथ्यो । औंसीमा लक्ष्मीपूजा गरेर भैलो खेलिन्थ्यो । भाइटीकामा दिदीबहिनीका हातबाट टीका, फूलमाला लगाएर देउसी खेल्ने चलन थियो । मारुनी नाच, सोरठी नाच लगाएर ठूली एकादशीसम्म रमाइलो गर्ने चलन थियो । दसैं, तिहार गएपछि मङ्सिर लाग्छ । मङ्सिरमा धान पाकेपछि न्वागी खाने चलन थियो । न्वागीमा देवी बराजुलाई नयाँ चामलको अक्षता, धूप, भेटी उठाएर पुजारीलाई पुर्याउने चलन थियो ।
धुपूसेराका देवी बराजुलाई धुप, अक्षता पठाइन्थ्यो । देवी पूजा गर्ने दुलाल र बराजुका थापा पुजारी छन् । यसपछि मङ्सिरमा धान काट्न दाइँ गर्न पर्म लगाएर सामूहिकरुपमा पालैपालो सबै काम गरिन्थ्यो । दाइँ गर्दा पनि निकै रमाइलो हुन्थ्यो । खलेगहरामा जुत्ता, चप्पल लगाउन नपाइने, धूप हालेर कुन्युको जुरी झिक्ने, दालभात र कुखुरा काटी दाइँ गर्ने चलन भएकाले दाइँलाई पनि पर्वकै रुपमा मानिथ्यो । यसै गरेर मङ्सिरे पूर्णिमामा हाम्रो कट्टेल परिवारका सबै दाजुभाइ भेला भएर गोठधूप गर्ने चलन छ । गाई गोठमा गोठका देवता गैडु गोसाई महादेव, महारुद्र आदि सम्झी आफ्ना कूल देवताको समेत पूजा तथा आराधना गर्ने चलन छ । यो वर्षमा उधौली (मङ्सिरे पूर्णिमा) र उभौली (वैशाखे पूर्णिमा) मा दुईपटक गर्ने चलन छ । यसपछि दुवै पूर्णिमामा पछि आउने पञ्चमी तिथिमा आआफ्नो घरमा लिपपोत चोखोनितो गरी नैवेद्य दूध, धूप, अक्षता, पाती, बाली आफ्ना कूल देवताको पूजा गर्ने, साथमा जङ्गली वायुलाई समेत धूप हाल्ने चलन छ । यो दिन आफ्ना दाजुभाइबाहेक अन्य व्यक्तिलाई घरमा आउनेलाई खान नहुने चलन छ । माघे सङ्क्रान्ति पनि उत्तिकै रमाइलो रुपमा मनाउने चलन छ । वन तरुल, घर तरुल खनेर पकाउने, सेलरोटी पकाउने र खाने चलन छ । पुस मसान्तका दिन पकाएर भोलिपल्ट माघे सङ्क्रान्तिका दिन जलाशय वा धारा, कुवामा बिहानै मकर नुहाउने, वरुण मेला जाने, स्याबुनको महादेवस्थान, बराह क्षेत्रजस्ता धाममा गएर तीर्थ व्रत गर्ने चलन पनि छ । अहिले यी पर्व मनाउने चलन परिवर्तन हुँदै आएको छ । पहिलेभन्दा अहिले आधुनिकता र विकासको गतिले हरेक सेवासुविधा थपिएकाले पुरानो परम्परा परिवर्तन हुनु स्वाभाविकै हो । तथापि परिवर्तन र आधुनिकताका नाममा लोप हुन हुँदैन । उहिले रमाइलो र मनोरञ्जन गर्ने ठाउँ थिएन । चाडपर्व मनाउँदा हाटबजार, मेलापात गर्दा साथीहरु भेला भएर रमाइलो हुन्थ्यो । हिजोआज रेडियो, टेलिभिजन नेट–इन्टरनेट केके हुन्, घरघरमा राखेर विश्व परिवेशको दृश्य हेर्न पाउँदा अचम्म लाग्छ । अझ धेरै बाँच्न पाए केके न देख्न पाइन्थ्यो जस्तो लाग्छ ।
भ्रमण यात्रा
मनमा रहर भएर पनि धेरै कुरा गर्न कहाँ सकिन्छ र ? घुम्ने इच्छा त हुन्छ तर खर्च पुर्याउन समस्या हुन्छ । खासगरी म सुरुमा आसाम डिकराईसम्म पुंगें । पारिहटी, वारिहटी, ब्रह्मपुत्र तरें । घरगृहस्थ आदि कारणबाट पनि डुल्न पाइएन । आफ्नै जिल्लाका मठमन्दिर घुमें । दिङ्ला, खोटाङ हलेसी, वराह क्षेत्र पुगें । त्यसो त ढाकर तोक्लाङ लिएर धेरैपटक नुन, तेल बोक्न धरानसम्म पुगें । २०७५ सालमा मेरा छोरानातिहरुले खर्च गरेर सपरिवार काठमाडौं, पोखरा, गोरखा, मनकामना, देवघाट आदि घुमाए । आउँदाजाँदा जहाज चढियो । केबलकार भन्ने सुनेको मात्र थिएँ, चढियो । यस्तो अवसर मिलेकोमा धेरै खुसी लागेको छ । तुम्लिङटार विमानस्थल खन्न गैती, झम्पल लिएर गएका थियौं । अहिले त्यहींबाट जहाज चढ्न पाइयो ।
विशेष योगदान र सम्मान
धनी, महाजनहरुलाई त सबैले मान्छन् । मजस्ता श्रमजीवीलाई कसले सम्मान गर्ने र ? ठूलाठूला समाज सेवाका काम पनि गर्न सकिएन । मन भएर मात्र नहुँदो रहेछ, धन चाहिँदो रहेछ । आफूले सकेअनुसार धुपू–बाह्रबिसे जाने बाटोमा एक चौतारो बनाई वरपीपल लगाइ हुर्काएँ । बाटोमा हिँडँदा काँडा, ढुङ्गा, स्याउला पन्छाएरै हिँड्ने गर्छु । गाउँघरमा कुनै कर्मकाण्ड, पुराण आदि भएमा सकेको आर्थिक सहयोग गर्ने गरेको छु । आफूले पढ्ने अवसर नपाए पनि जनज्योति मा.वि. मा अक्षय कोष राख्दा विद्यालयले दोसल्ला ओढाई अभिनन्दन गर्यो । यो नै मेरो सम्मान एवं खुसी हो । हाम्रो समय अत्यन्त दुःखी थियो । हलो, कोदालो, ढिँडो, रोटी खाएर दुःखजिलो गरेरै भए पनि छोरा, नातिहरुलाई जागिरे बनाएँ । यसैमा म खुसी छु । गोठमा बसेर गाई, भैंसी पालेर दूध तताउने, मोही पार्ने, नाम्ला–दाम्ला, जोतारा बाट्ने काम गरियो । ठेकी, मदानी, डेली, जुवा, दाँदे, हरिस, सोइला आदि सामान प्रयोग हुन्थ्यो । झूलो चकमकबाट आगो पारिन्थ्यो । गोठमा बस्दा, जन्त जाँदा सिलोक भन्ने गरिन्थ्यो । चोया बाताको काम गरी घर छाउने, पेरुङ्गो, महला, घुम बुन्ने गरियो । दौरा–सुरुवाल, कमिज, पोटुका, टोपी लगाइन्थ्यो । अहिले प्लास्टिकका सामान आउन थालेपछि सबैथोक हराउँदै जाँदै छन् । सट, पेन्ट, टाई, जुत्ता अनेक फेसन आएका छन् । छोराछोरी बराबरी स्कुल पढ्न गएको देख्छु ।
हाम्रा पालामा छोरी पढाउँदैनथे । अहिले महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख पनि महिला नै बन्न पुगे । हामी अन्धविश्वास र अन्धकारमा हुर्कियौं । जन्ती, मलामी महिला सराबरी जान थाले । खै केही हुँदो रहेनछ त । छोराछोरी बराबरी भनेको यही रहेछ । धर्मकर्ममा विश्वास राख्छु । धर्म भनेको अनुशासन रहेछ । आत्मा सफा राखेर काम गर्दा सफल भइन्छ । बाँचुञ्जेल आमाबुवाको हेरचाह गर्नु, मीठो–मसिनो खान दिनु यही धर्म हो । मरेपछि बाह्र दिन काजकिरिया गर्नु पर्दैन । सात दिनमा सके हुन्छ भनेर छोरालाई भनेको छु । मरेपछि स्वर्ग जाइन्छ भन्नेमा विश्वास छैन । आफ्नै कर्मले स्वर्ग गइन्छ । दीनदुःखीको सेवा गर्नु नै धर्म हो । अर्कालाई बिगारी आफू बनिनु त्यो राक्षसी कर्म हो । सबैको आत्मा उस्तै हो । हेंला, हिंसा गरेर नबोल्नू । सबैसँग मिलेर बस्नु नै धर्म हो ।
हाम्रा पालामा गोठाला, खेताला जाँदा गीत गाउने गरिन्थ्यो । त्यो बेलाका गीतहरु यसरी गाइँन्थ्यो–
काटेपछि सुकी जाने कटुसैको सेउला
घरमा बस्दा नानीको बाउ बजार जाँदा बेउला ।
सो राजा सै सै
जोबाने गोरु भैंसे
उकाली ज्यानको चप्लेटी ढुङ्गा, खेताला बिसाउने
मेरो त नानी ख्याल गर्ने बानी तिम्रो त रिसाउने ।।