लायन्स मनराम फाउण्डेशन २००५ ले संखुवासभाको खाँदबारीमा रहेको बाल कल्याण गृहमा आश्रित बालबालिकाका लागि स्टेशनरी सामग्री सहयोग गरेको छ । आमाबुबा गुमाएका तथा अभिभावकविहीन अवस्थामा बाल कल्याण गृहमा बस्दै आएका बालबालिकाको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले फाउण्डेशनले कापी र पेन्सिल उपलब्ध गराएको हो ।
बाल कल्याण गृहमा हाल आमाबुबा गुमाएका ९ जना बालबालिका बस्दै आएका छन् । उनीहरूको नियमित पठनपाठनमा आवश्यक पर्ने शैक्षिक सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले लायन्स मनराम फाउण्डेशन २००५ ले १ सय ८० थान कापी र ४ सय १० थान पेन्सिल सहयोग गरेको हो ।
बुधबार आयोजित एक कार्यक्रमका बीच लायन्स मनराम फाउण्डेशन २००५ का उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उक्त स्टेशनरी सामग्री बाल कल्याण गृहका संयोजक अनिष विष्टलाई हस्तान्तरण गरे ।
सामग्री हस्तान्तरण गर्दै फाउण्डेशनले बालबालिकाको शिक्षा र उनीहरूको दैनिक आवश्यकतामा सहयोग पुयाउने सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको उनले बताए ।
बालबालिकाको शैक्षिक यात्रामा आवश्यक पर्ने कापी, पेन्सिललगायतका सामग्री नियमित रूपमा आवश्यक पर्ने भएकाले प्राप्त सहयोगले उनीहरूको पठनपाठनमा प्रत्यक्ष सहयोग पुग्ने बाल कल्याण गृहले जनाएको छ । अभिभावक गुमाएका बालबालिकालाई संरक्षणसँगै शिक्षाको अवसर उपलब्ध गराउनु सामाजिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएकाले यस्ता सहयोगले बालबालिकामा अध्ययनप्रति थप सहयोग मिल्ने श्रेष्ठले बताए ।
यसैगरी मनराम मोटर्स प्रालिले पनि बाल कल्याण गृहमा आश्रित बालबालिकाका लागि लत्ताकपडा सहयोग गरेको छ । मनराम मोटर्सले १८ थान टिसर्ट उपलब्ध गराएको हो । मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विमल गौतमले बालबालिकालाई टिसर्ट हस्तान्तरण गरे ।
शैक्षिक सामग्रीसँगै आवश्यक पोसाकसमेत प्राप्त भएपछि बाल कल्याण गृहमा बस्दै आएका बालबालिकालाई थप सहज हुे छ, उनले भने संस्थाले बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न विभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोग महत्वपूर्ण हुन्छ ।
बाल कल्याण गृहमा आश्रित बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य तथा दैनिक आवश्यकताका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा सामाजिक संस्थाबाट समय- समयमा सहयोग प्राप्त हुँदै आएको छ । स्थानीय स्तरमा सामाजिक संस्थाहरूले बालबालिकाको शिक्षा तथा संरक्षणका क्षेत्रमा सहयोग गर्दै जानुले उनीहरूको भविष्य निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ लायन्स मनराम फाउण्डेशन र मनराम मोटर्सले गरेको सहयोगले बाल कल्याण गृहमा रहेका बालबालिकाको तत्कालीन शैक्षिक तथा व्यक्तिगत आवश्यकतामा सहयोग पुग्नुका साथै उनीहरूलाई समाजका विभिन्न क्षेत्रबाट साथ र सहयोग प्राप्त भइरहेको अनुभूति गराउने वाल ग्रहले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने यस्ता सहयोगलाई निरन्तरता दिन सके बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा थप टेवा पुग्ने वाल गृहले जनायाे ।