खाँदबारी, संखुवासभा। घरेलु तथा साना उद्योग कार्यालयले सङ्खुवासभाले जिल्लाका महिला उद्यमीलाई कृषि तथा वनजन्य क्षेत्रमा आधारित उद्योग सञ्चालन र विस्तारका लागि प्रविधि तथा उपकरण सहयोग गर्ने भएको छ। कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, सङ्खुवासभाले आर्थिक वर्ष २०८३ ०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रविधि हस्तान्तरणका लागि प्रस्ताव तथा निवेदन आह्वान गरेको हो।
कार्यालयले जिल्लाभित्र दर्ता भई सञ्चालनमा रहेका महिला उद्यमीहरूद्वारा सञ्चालित कृषि तथा वनजन्य क्षेत्रमा सम्बन्धित उद्योगको स्थापना, सञ्चालन तथा क्षमता अभिवृद्धिका लागि आवश्यक प्रविधि र उपकरण उपलब्ध गराउने जनाएको छ। कार्यालयका अनुसार यस कार्यक्रमअन्तर्गत सहभागी हुन इच्छुक उद्यमीले प्रस्ताव दस्तुर बापत १०० रुपैयाँ सहित आवश्यक कागजात पेस गर्नुपर्नेछ। कात्तिक १८ सम्मामा कार्यविधिअनुसार प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
प्रविधि तथा उपकरण सहयोग कार्यक्रमअन्तर्गत फलफूल खेती तथा प्रशोधन, खाद्यवस्तु उत्पादन तथा प्रशोधन, पशुपालन, माछापालन, दुग्ध उत्पादन तथा प्रशोधन, च्याउ खेती, कफी खेती तथा प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, तरकारी बीउ उत्पादन, तरकारी खेती तथा प्रशोधन, मौरीपालन, पुष्प खेती, नर्सरी व्यवसाय, रबर खेती, शीतभण्डार सञ्चालन, कृषि बजार व्यवस्थापन, बाँस तथा बेतजन्य सामग्री उत्पादन, फर्निचर उद्योग, प्याकेजिङ, डिजाइनिङ, प्रिन्टिङ तथा अन्य विभिन्न कृषि र वनजन्य उद्योगलाई समेटिएको छ।
त्यसैगरी, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा उत्पादनमूलक व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रकारका उद्योगलाई लक्षित गरिएको कार्यालयले जनाएको छ। आवेदन पेस गर्दा उद्योग दर्ता वा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८२ ०८३ को कर चुक्ता प्रमाणपत्र, उद्योगीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उद्देश्यसँग सम्बन्धित तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि तथा प्रविधि सहयोग कार्यविधि, २०८० बमोजिम आवश्यक कागजात र विवरण संलग्न गर्नुपर्नेछ।