नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा ‘भूतपूर्व सैनिक सम्मेलन-२०८३ आयोजना हुने भएको छ। भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका सकलदर्जाको हित, कल्याण र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सम्मेलन सञ्चालन गर्न लागिएको हो।
पूर्वी पृतना हे.क्वा. अन्तर्गतका सुनसरी, मोरङ, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा बसोबास गरी सम्बन्धित क्षेत्रका बैंकबाट पेन्सन बुझिरहेका हिताधिकारीलाई सम्मेलनमा सहभागी हुन अनुरोध गरिएको छ। सुनसरीका लागि मुख्य सम्मेलन केन्द्र इटहरीस्थित पूर्वी पृतना हे.क्वा. रहनेछ भने धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको २०८३ मंसिर १४ गते हिले स्थित नं २ वाहिनी अड्डा उपसम्मेलन केन्द्रमा सञ्चालन हुनेछ।
सम्मेलनमा सहभागी हुन इच्छुक हिताधिकारीले nawb.nepalarmy.mil.np मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। दर्ताको अन्तिम मिति २०८३ कात्तिक ३० गते रहेको छ। दर्ताका लागि पेन्सन पट्टा, नागरिकता र पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ।
सम्मेलनमा सहभागीलाई भ्रमण भत्ता, विभिन्न सामाग्री वितरण, कर्जा प्राप्त गरेका ऋणीलाई चेक हस्तान्तरण, उत्कृष्ट लघु उद्यमीलाई पुरस्कार तथा ज्येष्ठ भूतपूर्व सैनिक र ज्येष्ठ एकल महिलालाई सम्मान गरिनेछ। साथै, योग्य अशक्त आश्रितलाई आवश्यकताअनुसार ह्विलचेयर तथा बैसाखी वितरण गरिनेछ।
संखुवासभा जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका हिताधिकारीहरूले आवश्यक कागजातसहित इन्द्रदल गुल्ममा उपस्थित भई कर्मचारीको सहयोगमा अनलाइन फाराम भर्न सक्नेछन्। सम्मेलनसम्बन्धी कुनै जिज्ञासा वा द्विविधा भएमा समन्वयका लागि सम्बन्धित इन्द्रदल गुल्मको मोबाइल नम्बर ९७६५३५८५७८ मा सम्पर्क गर्न सकिनेछ।