सङ्खुवासभा । खाँदबारीको चाँदनी चोकमा रहेको चिया पसलमा बसिरहेको, अनुहारमा छुस्स दाह्री पालेको, सेतो सर्ट अनि जिन्स प्याण्ट लगाएको उ । कहिले चिया पिउछ त कहिले कोकको बोतल समाउदै चिया पसलमा फुर्संदिलो भएर बसेको तीन चार महिना वित्छ । उ भन्छ, म अलमल्ल परे ।
हिजोसम्म उसको पहिचान बेग्लै थियो । उ कुनै एउटा सरकारी कार्यालयको जागिरे थियो । आज न उसँग जागिर छ न पैसा छ । अव के गर्ने भनेर उसले धेरैसँग सल्लाह माग्यो । कसैले भने पढेर लोकसेवा पास गर्नु जिवन बन्छ, कोही भन्छन् तिमीसँग प्रेसको रातो कार्ड छ कलम चलाएर आफ्नो व्यक्तित्व बनाउनु । उ अमुक राजनीतिक दलको जल्दो बल्दो कार्यकर्ता भएकोले कोही भन्छन् राजनीतिमा तिम्रो भविष्य राम्रो छ त्यतै लाग्नु । यि सबै कुरा सुनेर उ अलमल्लमा पर्छ ।
उसले ज्योतिषी कहाँ गएर चिना हेराउन पनि भ्याँउछ । यि सबैका कुरा अनि ज्योतिषीको भविष्यवाणीले झन अलमल्लमा पर्छ ।
खाँदबारीको रैथाने केटो, खान पुग्ने बाबु–बाजेको हक सर्दै आएको खेतबारी भएकाे जिन्दगीमा के गर्ने के नगर्ने यतिखेर उ सोच्दासोच्दै हैरान भएको छ । हरेक बेलुका उसको मनमा अनेक कुराहरु खेल्न थाल्छन् । उ कहिले राम्रो कलम चलाएर सबैको प्यारो भएको सपना देख्छ त कहिले नेपाल सरकारको उच्च पदस्थ व्यक्ति भएको अनि कोही कोही बेला मन्त्री भएको सपना देख्छ । यसरी अनेक थरी सपना देख्दै हिडेको पनि तीन चार महिना वितिसक्दा कसो गर्ने मेलो पाएको छैन उसले ।
जिल्लामा सबैतिर राम्रै चिनजान भएको उ कहिले कसलाई भेट्छ त कहिले कसलाई । जागिर हुदाँसम्म त उसलाई घरखर्च अनि व्यक्तिगत खर्च गर्न गाह्रो थिएन । अहिले खल्तीमा चिया खाने पैसा समेत नहुँदा उ अलमल्ल पर्छ अनि निष्कर्ष निस्कन्छ, जिन्दगी यस्तै रहेछ ।
उ बाहिरबाट हेर्दा त हाँसेको नै देखिन्छ केही पनि चिन्ता नभएको जस्तो । तर उसको मनमा मच्चिएको हुण्डरी बुझिदिने को नै पो छ र । घरमा पनि सानोतिनो खर्च गर्नुपर्यो उसैको मुख हेर्छन् । बाहिर साथीभाईले नि यत्रो बर्ष जागिर खाको छस् अलिअलि त जोहो होलानी भन्छन् ।
अहिले उसको दैनिकी घरबाट विहान १० वजे निस्कने अनि ७ बजे फेरी घर जाने बनेको छ । उ सोच्छ यसरी कसरी जिन्दगी बन्ला र फेरी गर्न पनि केही गर्दैन । जे भईरहेको छ उ आफै अलमल्लमा परेर बसेको मात्र छ । साथीभाईसँग हिड्छ खान्छ रमाउछ बस यति नै छ अहिले उसको दिनचर्या । चिया खाने पसलमा भेट हुनेको कुरा सुन्छ अनि उसले मनमनै नयाँ योजना बनाउछ तर गर्न चाँही केही पनि गर्दैन ।
यसै गरी तीन चार महिना वितेसकेका छन् । उसलाई लाग्छ, समय यतिकै खेर गईरहेको छ । अव त केही गर्न पर्छ । यति सोचेर फेरी लाग्छ घरतिर । उबाट उसका घरकाले धेरै आस गरेका छन् । उ जान्नेबुझ्ने घरको जेठो छोरा उसले जे निर्णय गर्छ राम्रै गर्छ भनेर उसको कुरा मान्छन् घरमा । उसँग अहिले आम्दानीको स्रोत छैन तै पनि अरुभन्दा कम देखिन चाँहदैन । बेलाबेला उ निराशाको चरम अवस्थामा पुग्छ कि अव कसरी जिन्दगी चलाउने भनेर । अव उसले कुनै कार्यको थालनी गरेर नयाँ जिवनको यात्रा गर्ने सोचमा पुग्छ ।
उसँग अहिले जे छ त्यो नै जिन्दगी हो, बितेको पाँच बर्षमा उसले जे सिक्यो त्यसैलाई प्रयोग गर्दै अगाडि बढ्ने अठोट गर्छ, सफल हुने आस गर्छ र जिवनको नयाँ अध्याय सुरु गर्ने जमर्को गर्छ ।