संखुवासभा : संखुवासभाको मादीमा ६ जनाको सामूहिक हत्या नाती नाता पर्नेले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उमलिङको खोला गाउँमा सोमबार एकै परिवारका ६ जनाको हत्या आरोप २५ वर्षीय नाती पक्राउ परेका हुन्। बौदमान कार्कीका जेठो दाजुका नातिलाई हत्यामा संलग्न भएको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले हत्या आरोपमा पाँच दिनपछि आफन्तलाई नै पक्राउ गरी थप अनुसन्धान थालेको छ। अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ परेका नातीको घर घटना स्थलबाट करिब डेढ सय मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए। उनीसँगै अर्का एक व्यक्तिलाई पनि हत्यामा सहयोग गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ। प्रहरीले आइतबार मात्र पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ।
घटनास्थलको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानको ठूलो टिम परिचाल भएको थियो। बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वता, ५८ वर्षीय छोरा तेजबहादुर, ५२ वर्षीय बुहारी कमला, बौद्धमानकी नातिनी बुहारी ३२ वर्षीय रञ्जना, ११ वर्षीय पनाती दीपेन र ७ वर्षीय पनातिनी गोमा कार्कीको हत्या भएको थियो।