काठमाडौं ः कोभिड १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको भन्दै ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले वैशाख मसान्तसम्म ठुला सहरहरुको विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
विद्यालय बन्दको समयमा पढाइलाई वैकल्पिक विधिबाट अगाडि बढाउने विषयमा भएको छलफलले यस्तो निर्णय गरेको हो। विद्यालयमा संक्रमण बढी देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै विद्यालय र भीडभाड हुने स्थानमा नजान अनुरोध गरेको थियो।
सीसीएमसीको सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरेमा मात्र त्यो कार्यान्वयन हुनेछ । अन्य स्थानीय तहको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुनेगरी सीसीएमसीले यस्तो निर्णय गरेको हो।
नेपालमा पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कडाइ गर्न लागेको हो। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने विषयमा विभिन्न विषयमा छलफलसमेत भएको छ।