सङ्खुवासभा । प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका दिपक खड्का निर्वाचित भएका छन् । काँग्रेसका खड्काले दोस्रो पटक ३२ हजार १ सय ५८ मत ल्याएर ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले बताए ।
खड्का र नेकपा एमालेका राजेन्द्र प्रसाद गौतम विच भएको तेस्रो प्रतिस्पर्धामा गौतमले २६ हजार ७ सय १९ मत ल्याएर पराजित भएका हुन् । गठबन्धनको सहयोगमा ५ हजार ४ सय ३९ मत अन्तरले खड्का बिजयी भएका हुन् । ०७० सालको निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरि खानेपानी तथा सरसफाई राज्य मन्त्रिी भएका थिए । खड्का काँग्रेस सङ्खुवासभाका जिल्ला सभापति समेत हुनु हुन्छ । प्रतिनिधिसभा तर्फ ६५ हजार ३ सय ३७ (५६ प्रतिशत) मत खसेकोमा २ हजार ७ सय ५७ मत बदर भएको छ ।
२०७० को चुनावमा खड्काले ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए भने एमालेका गौतमले १० हजार ९ सय ७३ मात्र ल्याएर पराजित हुन पुगेका थिए । माओवादीका राजेन्द्र किराँतीले ४ हजार २९३ मत ल्याएका थिए ।
प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र कायम भएपछि २०७४ निर्वाचनमा बामगठबन्धनको तर्फबाट गौतमले ३२ हजार ७६९ मत ल्याएर खड्कालाई हराएका थिए । खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए ।
२०४८ सालमा जिल्लाको दुबै क्षेत्रमा एमाले बिजयी भएको थिए । सो चुनावमा क्षेत्र नं. १ बाट घनेन्द्र बस्नेत र क्षेत्र नं. २ बाट पर्शुमेघी गुरुङ बिजयी भएका थिए । त्यसैगरि २०५१ सालको मध्यावधी चुनावमा पनि दुबै क्षेत्रमा एमाले नै बिजयी भयो । क्षेत्र नं. १ बाट डेडराज खड्का र क्षेत्र नं। २ बाट हरि बैरागी दाहाल बिजयी भएका थिए । त्यसपछिको २०५६ सालमा भएको निर्वाचनमा क्षेत्र नं. १ मा काँग्रेसका टंकप्रसाद राई र क्षेत्र नं. २ मा एमालेका पर्शुमेघी गुरुङ बिजयी भएका थिए । माओवादी निर्वाचन प्रकृयामा आएपछि २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नं. २ एमाले र क्षेत्र नं. १ मा माओवादीले जितेको यस जिल्ला दोस्रो संविधानसभाको निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसले जितेको थियो । २०४८ साल एता २०७० दोस्रो संविधानसभाको चुनाव बाहेक अन्य चुनावमा एमालेको वर्चश्व रहेको थियो ।
विजयी खड्का को हुन्
तत्कालीन आँखिभुईं गाविस वडा नम्बर ६ हालको धर्मदेवी नगरपालिका वडा नम्बर ८ मा १५ असार ०२८ मा दीपक खड्काको जन्म भएको हो । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका उनी ०४६ सालको जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी थिए । त्यसबीचका अनेक सार्वजनिक आन्दोलनमा उनी सक्रिय बनिरहे ।
२०४६ सालको आन्दोलनमा सक्रियता तथा प्रजातन्त्रको पुनःस्थापनापछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहे । त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा समाजशास्त्र संकायमा स्नातकोत्तर उत्तीर्ण गरे । ०६७ सालमा गृहजिल्ला सङ्खुवासभाबाट महासमिति सदस्य निर्वाचित भए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन संखुवासभा क्षेत्र नम्बर २ बाट सभासद् निर्वाचित भए । करिब चार वर्षको संविधानसभा सभासदको कार्यकालका क्रममा ०७३ सालमा उनी खानेपानी तथा सरसफाइ राज्यमन्त्री नियुक्त भए । हाल उनि कांग्रेसका सङ्खुवासभा सभापति समेत रहेका छन् ।