खाँदबारी । चिचिला गाउँपालिका–४ की भद्रमाया गुरुङले पाँच महिना देखि दुवै आँखा देख्न छाडिन् । ८३ वर्षिय गुरुङ उमेरकै कारण आँखा देख्न छाडेको भन्दै उनि घरमै परिवारको सहयोगमा भित्रबाहिर गर्ने गर्थिन् ।
‘बुढेसकालको कारण आँखा देख्न छाडेको र अब उपचार हुन्छ भनेर मलाई विश्वास लागेकै थिएन’ गुरुङले भनिन् । गुरुङको मोतियाविन्दुका कारण दुबै आँखाको ज्योति गुमेको थियो । दुई वर्ष अगाडिबाट नै दुबै आँखा कम देख्न थालेकी थिन्, बैशाख देखि पुरै बन्द भयो । शरीर कमजोर हुँदै जादा आँखा कमजोर हुनु स्वभाविक नै लाग्थ्यो उनलाई । ‘भतिजो र छोरीले खाँदबारीमा आँखा शिविर छ, आँखा उपचार गर्न जानुपर्छ भन्दा मैले अब बुढेसकालमा कसरी आँखा देख्छु भनेर जान्न भनेको थिए्’ गुरुङले भनिन् । तर सबैले कर गरेपछि गाडि चढेर उनिहरुकै सहारामा आएर उपचार पछि अहिले दुवै आँखा देख्न सक्ने भए । तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीको आयोजनामा भएको मोतियाविन्दुको शल्याक्रिया शिविरमा गुरुङको मोतियाविन्दुको शल्याक्रिया भएको हो ।
आइतबार दायाँ आँखाको उपचार गर्दा सम्म विश्वास नै लागेको थिएन उनलाई । तर उपचार पछि पट्टी लगाएर बन्द राखेको आँखा भोलिपल्ट खोल्दा उज्यालो देख्न पाउँदा उनको खुशीको सिमा नै रहेन । बाँचुन्जेल अब अन्धकारमा बस्नु पर्दा किन बाँचीरहेको होला जस्तो लाग्ने गुरुङले पहिले कै अवस्थामा देख्न पाउँदा खुशी नहुने कुरै भएन । दायाँ आँखा देख्न सुरु गरेपछि दोस्रो दिनको शिविरमा गुरुङको बायाँ आँखाको शल्याक्रिया भयो । सल्याक्रिया पछि मंगलबार विहानै गुरुङको बायाँ आँखाको पट्टी तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्र्चाज क्षितिज बरालले खोल्दा उनि अझ खुशी भइन् । उनले सबैलाई धन्यवाद दिदै भनिन्, फेरी आँखा देख्छु जस्तो लागे कै थिए । हरेक कुरामा परिवारको भरपर्नु पर्दा उनलाई धेरै चिन्ता हुने गरेको थियो । ‘हामी बुढो भएपनि आँखा बुढो नहुँदो रहेछ, उपचार पाए जहिल्यै आँखा देख्न सकिने रहेछ’ गुरुङले भनिन् । एक वर्ष देखिनै लौरोको सहारामा रहेकी गुरुङ पाँच महिना देखि अन्धकारमा जीवन विताउँदै आएकी थिइन् । दुबै आँखा देख्न सक्ने भएपछि आफै हिडेर गाडी भएको ठाउँ सम्म उनि पुगिन् । धेरै महिना पछि आफै हिड्न सक्दा एकछिन त उनको खुट्टा समेत लर्वरायो । उमेरले पाको भएपनि उनमा हिड्न सक्ने आँट भने हराएको छैन ।
उनको भतिजो छोरो बुद्धि बहादुर गुरुङले भने–‘काकी आमाले आँखा देख्न छाडेपछि ट्वाइलेट जान सम्म समस्या भएको थियो ।’ उहाँ तन्दुरुस्तै भएपनि आँखा नदेपछि थलामै हुनुहुन्थ्यो । गाउँघरमा खेतिका लागि हामी बाहिर जाँदा पनि आमालाई एक्लै छाडेर जान गाह्रो हुन्थ्यो । हिडडुल गर्न सक्दासक्दै आँखा देख्न छाडेपछि आमाको स्याहार गर्न एक जना चाहिन थालेको उनले बताए । आमाको उपचारका लागि बाहिर लानु परेको भए उपचार गर्न लैजाने हाम्रो हैसियत थिए । तर जिल्लामा निशुल्क शिविर सञ्चालन भएकाले आमाले बुढेसकालमा पनि आँखा देख्न सक्नुभयो । भद्रमाया भतिजो छोरो सँग बस्दै आएकी छन् । मोतियाविन्दुको समयमा नै सल्याक्रिया भयो भने कसैले पनि आँखाको ज्योति गुमाउनु नपर्ने डाक्टर विवेक आचार्यले बताए । समयमा उपचार नपाए सदाका लागि ज्योति गुम्ने उनको भनाई छ । आँखा धमिलो हुन साथ स्वास्थ्य संस्थामा गएर आँखाको जाँच गराउन उनले अनुरोध गरे ।
तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा खाँदबारीले आइतबार र सोमबार निशुल्क मोतियाविन्दुको शल्याक्रिया शिविर सञ्चालन गरेको हो । शिविरमा सङ्खुवासभा र भोजपुरको उत्तरी क्षेत्रका ३९ जनाको शल्याक्रिया भएको उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिए । लाहान आँखा अस्पतालका डाक्टर विवेक आचार्यले मोतियाविन्दुको शल्याक्रिया गरेका थिए । यस उपचार केन्द्रले वार्षिक ८ वटा मोतियाविन्दुको निशुल्क सल्याक्रिया शिविर सञ्चाल गर्दै आएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्त कुमार गौलीले बताए । यहाँको दुर्गम क्षेत्रबाट सदरमुकाम खाँदबारी आइपुग्न नै ४÷५ दिन लाग्छ काठमाण्डौं गएर आँखाको उपचार गराउनु त यहाँका लागि निकै महंगो पर्दछ । ‘त्यसैले हामीले वार्षिक रुपमा विरामी छनौट गर्दै जिल्लाका विभिन्न स्थानमा निशुल्क मोतियाविन्दुको शल्याक्रिया शिविर सञ्चालन गर्ने गरेका छौ ।’ अध्यक्ष गौलीले भने । जिल्लामा बार्षिक चार सय जना भन्दा बढीको शिविरमा आँखाको शल्याक्रिया हुँदै आएको उनले बताए । अहिले सम्मका सबै शल्याक्रिया सफल भएकाले उपचार गराउने संख्यामा वृद्धि हुँदै गएको उनको भनाई छ । यस उपचार केन्द्रमा सङ्खुवासभाका मात्र नभएर भोजपुरको उत्तरी क्षेत्रका विरामी समेत आउने गरेको उनले बताए ।