सङ्खुवासभाको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का डा. अर्जुन कार्की विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मिङ्मा शेर्पालाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्। कार्कीले १५ हजार ६३६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी शेर्पाले १५ हजार मत ल्याए। कार्की ६३६ मतान्तरले विजयी भए।
मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका कार्कीले अन्तिमसम्म मतान्तर कायम राख्दै विजय हासिल गरे। जेन–जी आन्दोलनको रापतापमा भएको निर्वाचनको परिणाम एमाले अनुकूल निर्वाचन नहुाँदा कार्कीलाई चुनाव जित्न हम्मेहम्मे परेकाे थियाे । नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत पाए। श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ र नेपाल कम्युनिष्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत ल्याइन्।
सङ्खुवासभाको चुनावी इतिहास
२०४८ सालमा जिल्लाका दुवै क्षेत्रमा एमाले विजयी भएको थियो। त्यसबेला क्षेत्र नं. १ बाट घनेन्द्र बस्नेत र क्षेत्र नं. २ बाट पर्शुमेघी गुरुङ निर्वाचित भएका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा पनि दुवै क्षेत्रमा एमालेले जित दोहोर्यायो। क्षेत्र नं. १ बाट डेडराज खड्का र क्षेत्र नं. २ बाट हरि बैरागी दाहाल विजयी भए। २०५६ सालको निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेसका टंकप्रसाद राई विजयी भए भने क्षेत्र नं. २ मा एमालेका पर्शुमेघी गुरुङ पुनः निर्वाचित भए।
माओवादी निर्वाचन प्रक्रियामा आएपछि २०६४ सालको संविधानसभा निर्वाचनमा एमाले र माओवादीले एक–एक क्षेत्र जितेका थिए। दोस्रो संविधानसभा निर्वाचन २०७० मा भने दुवै क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो। क्षेत्र नं. २ बाट दीपक खड्का र क्षेत्र नं. १ बाट तारामान गुरुङ निर्वाचित भएका थिए। २०७० मा कांग्रेससँग पराजित भएका एमालेका राजेन्द्र प्रसाद गौतमले २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट जित हासिल गरेका थिए। २०७४ मा गौतमसँग पराजित भएका कांग्रेसका दीपक खड्काले २०७९ को निर्वाचनमा पुनः जित फर्काएका थिए।
को हुन् डा. अर्जुन कार्की ?
खाँदबारी नगरपालिका–९ मा जन्मिएका ६२ वर्षीय कार्की कूटनीति, विकास र नागरिक समाजको क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्व हुन्। हिमालय योगमाया आयुर्वेद विश्वविद्यालयको अध्यक्ष पदबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन्। उनको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। उनी २०३६ को विद्यार्थी आन्दोलन, जनमतसंग्रह र अनेरास्ववियुमार्फत सक्रिय राजनीतिमा जोडिएका थिए।
२०४२–२०४५ को अवधिमा अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका कार्की २०४६ र २०६२/६३ का जनआन्दोलनमा पनि सक्रिय सहभागी थिए। कार्कीले बेलायतबाट ग्रामीण गरिबी र विकास अध्ययनमा विद्यावारिधि (पीएचडी) गरेका छन्। उनी ८८नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का संस्थापक नेतृत्वकर्ता हुन्। ग्रामीण विकास, गरिबी निवारण, महिला अधिकार र स्थानीय शासनका क्षेत्रमा काम गरेबापत उनले २०११ मा न्याय र शान्ति पुरस्कार प्राप्त गरेका थिए। उनी अतिकम विकसित देशहरूको मुद्दा उठाउने अन्तर्राष्ट्रिय सञ्जालका विश्व संयोजकसमेत हुन्। डा. कार्की नेपाल सरकारका तर्फबाट संयुक्त राज्य अमेरिका लगायत केही देशका लागि नेपाली राजदूतका रूपमा पनि कार्यरत रहिसकेका छन्। उनी एकैपटक केही अन्य देशका लागि अप्रवासी (Non-resident) राजदूतको जिम्मेवारी पनि सम्हालेका थिए। मे २०१५ – फेब्रुअरी २०२१ सम्म राजदुत भएका थिए ।