काठमाडौँ — चीनले फेरि एक पटक नेपालसँग कुनै पनि स्थानमा सीमा विवाद नरहेको दाबी गरेको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सियाओलोङले एक भनाई सार्वजनिक गर्दै नेपालसँग कुनै पनि सीमा समस्या नरहेको प्रष्ट पारेका हुन् । चिनियाँ राजदूतावासले गत वर्ष पनि यस्तै भनाई सार्वजनिक गरेको थियो ।तर नेपालको हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रमा चीनसँग सीमा विवाद भएपछि नेपाल सरकारले अध्ययन कार्यदल बनाएको र उक्त कार्यदलले रिपोर्टसमेत सरकारलाई दिइसकेको छ । गृह मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पुगिसकेको छ । मन्त्रालयले भने उक्त कार्यदलको रिपोर्टलाई सार्वजनिक गरेको छैन । यसैबीचमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच पनि भर्चुअल रुपमा सीमासहित अन्य विषयमा वार्ता कुराकानी भइसकेको छ ।नेपालको भारतसँग सीमा समस्या जारी रहेको र पछिल्लो समय उक्त समस्या झन् चर्किरहेका बेलामा चिनियाँ दूतावासले नेपालसँगको सीमा समस्या नरहेको दोहोर्याएको हो ।भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई अतिक्रमण गरेको छ । साथै लिपुलेकसम्म त भारतले तिब्बतको मानसरोवर जोड्ने सडकसमेत खनिसकेको छ । नेपाल सरकारको विरोधका बाबजुत उसले उक्त सडक निर्माणलाई विगत दुई वर्षदेखि जारी नै राखेको छ । उक्त सडकलाई सैन्य प्रयोजनका लागि पनि भारतले प्रयोग गर्न सक्ने देखिन्छ ।