सङ्खुवासभा । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न चिन भ्रमणपछि बन्द रहेको उत्तरी नाका खुल्ने बताए । चिन र नेपाल विचको नाका नखुल्दा चिनिया बजारको भरमा बसेका नेपालीहरुले समस्या भोग्दै आएको उनले बताएका हुन् ।
किमाथाङ्का लगायतका चिन र नेपाल विचको नाका नखुल्दा नेपाली नागरिकहरुलाई असहज पैदा भएको बारे सरकारलाई राम्रो जानकारी भएकोले भ्रमणको क्रममा प्राथमिकतामा राखिएको बताए । उनले यही २३ सेटेम्बर तारिखदेखि सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भइसकेको र चीन सरकारसँग किमाथांका नाका खुलाउने विषयको समेत एजेन्डा राखिएको हुँदा चाँडै खोलिने बताए।
कोरोना भाईरसको संक्रमण सुरुभएसँगै बन्द गरिएको नाका खोल्न चिनिया पक्ष पनि सकरात्मक रहेको मन्त्री साउदले भनाई थियाे । ‘केहि कुराहरु मन्त्री स्तरबाट पनि भएको छ, प्रधानमन्त्री ज्यू नेतृत्वको भ्रमण पछि पुर्ण रुपमा नाका खोलिन्छ’, मन्त्री साउदले भने । नाका खुलेसँगै सिमा क्षेत्रका नागरिकहरुको दैनिक सहज हुने मन्त्री साउदकाे भनाई थियाे ।
परराष्ट्रमन्त्री साउदले नेपाली जनताको तिब्बतसँग पुरानो सम्बन्ध रहेको बताउँदै एक–आपसमा व्यापारिक सम्बन्ध रहेकाले यो क्षेत्रको विद्युत् र सहरीकरणलगायतको विकास योजनाका लागि चीन सरकारसँग प्रस्ताव पनि गरिएको बताए।
‘चीनसँग विद्युतको ट्रान्समिसन लाइन विस्तार गर्ने भन्ने विषय पनि अघि बढेको छ। किमाथांका नाकालाई सहरीकरण बनाउनेलगायतका थुप्रै विकास परियोजनाको प्रस्ताव पनि गरेका छौँ, यो विषयमा चीन सरकार सकारात्मक रहेको पाएका छौँ,’ मन्त्री साउदले भने।