संखुवासभा । २०७० को निर्वाचनदेखि मंसिर ४ मा हुने निर्वाचनमा संखुवासभाबाट दुई ठूला दलका दुई प्रतिस्पर्धी नै चुनावी मैदानमा छन् । ०७० मा निर्वाचन क्षेत्र नंं. २ मा एमालेका राजेन्द्र गौतम र कांग्रेसका दिपक खड्काबिच भएको प्रतिस्पर्धामा खड्काले जित आफ्नो पक्षमा पारे । ०७४ को निर्वाचनमा भने माओवादीको साथ पाएका गौतमले खड्कालाई पराजित गरे । यो पटक पनि यी दुवै आकांक्षी नै मुख्य प्रतिष्पर्धी हुन् । तर ०७४ मा एमालेलाई सघाएको माओवादी भने यो पटक कांग्रेसको साथमा छ । त्यस्तै एमालेबाट फुटेको नेकपा एकिकृत समाजवादी (एस) सहित तीन दल एक भएर चुनाव लड्दै छ । तर एमाले भने फुटको सामना गर्दै एक्लै प्रतिस्पर्धा गर्दैछन् ।
२०७० को चुनावमा खड्काले ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए भने एमालेका गौतमले १० हजार ९ सय ७३ मात्र ल्याएर पराजित हुन पुगेका थिए । माओवादीका राजेन्द्र किराँतीले ४ हजार २९३ मत ल्याएका थिए ।
प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र कायम भएपछि २०७४ निर्वाचनमा बामगठबन्धनको तर्फबाट गौतमले ३२ हजार ७६९ मत ल्याएर खड्कालाई हराएका थिए । खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए ।
गत स्थानीय तहको चुनाव देखि पाँच दल एकातर्फ र एमाले एक्लै चुनाव लड्दै छ । गत स्थानीय तहको चुनावमा १० स्थानीय तह मध्ये ४ स्थानीय तहमा मात्र एमालेले प्रमुख पद जितेको छ । गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षमा पाएको मतलाई आधार मान्दा संखुवासभामा गठबन्धन अघि देखिन्छ । गठबन्धनमा आवद्ध दल कांग्रेसको ३३ हजार ११६, माओवादीको ६ हजार ८३३ र एकीकृत समाजवादीको ५२० मत छ । यो सबै मत जोड्दा गठबन्धनको पक्षमा ४० हजार ४९७ मत हुन्छ । तर एमालेले वडाध्यक्षहरुको मत ३३ हजार ७९ मत मात्र रहेको छ ।
गत स्थानीय तहको निर्वाचनमा १० स्थानीय तह मध्ये ८ स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन र एमालेको विच चुनावी प्रतिस्पर्धा रहेको थियो । चिचिला र सिलिचोङ गाउँपालिका एमाले, कांग्रेस र माओवादी विना गठबन्धन प्रतिस्पर्धामा थिए । स्थानीय तहको निर्वाचनमा गठबन्धन विच टिकट बाँडफाडमा तालमेल नमिल्दा ४ पालिका प्रमुख गुमाए पछि एस पटक गठबन्धनले त्यसलाई सुधारेको छ ।
२०४८ सालमा जिल्लाको दुबै क्षेत्रमा एमाले बिजयी भएको थिए । सो चुनावमा क्षेत्र नं. १ बाट घनेन्द्र बस्नेत र क्षेत्र नं. २ बाट पर्शुमेघी गुरुङ बिजयी भएका थिए । त्यसैगरि २०५१ सालको मध्यावधी चुनावमा पनि दुबै क्षेत्रमा एमाले नै बिजयी भए । क्षेत्र नं. १ बाट डेडराज खड्का र क्षेत्र नं. २ बाट हरि बैरागी दाहाल बिजयी भएका हुन । त्यसपछिको २०५६ सालमा भएको निर्वाचनमा क्षेत्र नं. १ मा काँग्रेसका टंकप्रसाद राई र क्षेत्र नं. २ मा एमालेका पर्शुमेघी गुरुङ बिजयी भएका थिए । माओवादी निर्वाचन प्रकृयामा आएपछि २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नं. २ एमाले र क्षेत्र नं. १ मा माओवादीले जितेको यस जिल्ला दोस्रो संविधानसभाको निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसले जितेको थियो ।
२०४८ साल एता २०७० दोस्रो संविधानसभाको चुनाव बाहेक अन्य चुनावमा एमालेको वर्चश्व रहेपनि यस पटकको चुनावमा एक्लो रहेको एमालेलाई चुनाव जित्न निकै सकस पुर्ण देखिएको छ ।
यस पटकको निर्वाचनमा संघीय संसदमा कांग्रेस, प्रदेश निर्वाचन क्षेत्र १ मा माओवादी र प्रदेश निर्र्वाचन क्षेत्र २ मा नेकपा(एस) विच टिकट बाँडफाडले गठबन्धनको एकता बलियो देखिन्छ । एमाले भने एक्लै आफ्नो विरातलाई जोगाउने प्रयत्नमा लागेको छ ।
खड्का विजयी भएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको खानेपानी तथा सरसफाई राज्यमन्त्रि समेत भएका थिए । तर पटकपटक मन्त्रिमण्डल हेरफेर हुँदा गौतमको नाम चर्चामा आए पनि उनि मन्त्रि बन्न सकेनन् । राज्यन्त्री भइसकेका खड्का अब विजयी भएर मन्त्रि बन्ने दाउमा छन् भने गौतम पनि जितलाई कायम राख्दै यस पटक मन्त्रि हुने आशामा छन् ।