चैनपुर । हेवा खोला बाढी पिडितहरुलाई छ लाख ६० हजार रुपैयाँ वितरण वितरण गरिएको छ । चैनपुर र पाँचखपन नगरपालिका विचमा रहेको हेवाखोलामा गत असार २ गते राती आएको बाढी पिडितलाई संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानले शनिवार राहत वितरण गरेको हो ।
चैनपुर नगरपालिकाको सभाहलमा बाढिपहिरोबाट पिडीतलाई नगद सहयोग उपलब्ध गराएको हो । संखुवासभामा जन्मिई प्रवास हङकङलाई कर्मथलो बनाएको संखुवासभालीहरुको साझा संस्था संखुवासभा समाज हङकङले पिडीतहरुलाई राहत वितरण गरेको संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिए । प्रतिष्ठानले हेवाखोलामा बाढीमा मृतक तथा बेपत्ताहरु ५ जनालाई जनही ४५ हजार, सभापोखरीका बेपत्ता ३ जनालाई जनही ३० हजार र पूर्णरुपमा विस्थापित प्रतिपरिवारलाई २४÷२४ हजारको दरले राहत रकम वितरण गरिएको हो ।
सोही कार्यक्रममा संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका सदस्य तथा साहित्यकार ताराबहादुर बुढाथोकीले ब्यक्तिगत रुपमा सामाजिक संजाल मार्फत संकलन गरेको ३१ हजार रुपैया समेत वितरण गरिएको थियो । बाढीपहिरो पीडित २२ परिवारले राहत पाएका छन् । राहत पाउनेहरु २ मृतक, ६ बेपत्ता र १४ घर पूर्ण क्षति भएको थियो ।
कार्यक्रममा चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले यो विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिए । स्थानीय सरकारले पनि सहयोग गरिरहेको बताउँदै उनले भने–राज्यबाट बेपत्ताको हकमा सुविधा प्राप्त गर्न केही कानुनी अप्ठयरो रहेकाले जिल्ला विपद् ब्यबस्थापन समितिले बेपत्तालाई मृतक भनेर गृह मन्त्रालयमा सिफारिस गरेकोले अब सुविधा पाउने प्रक्रियामा रहेको छ ।
साहित्यकार बुढाथोकीको पहलमा संकलित ३१ हजार रुपौयाँ वितरण
साहित्यकार तारा बहादुर बुढाथोकीको पहलमा सामाजिक सञ्जालको प्रयोगबाट संकलन गरेको ३१ हजार रुपैया पनि बाढी पिडितलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठानले गरेको राहात वितरण कार्यक्रममा बुढाथोकीले संकलन गरेको रकम सम्वन्धित परिवारलाई हस्तान्तरण गरिएको हो । नौ जना दाता मार्फत उक्त रकम संकलन गरेर पिडितलाई हस्तान्तरण गरिएको बुढाथोकीले बताए । मृतक परिवारलाई प्रतिपरिवार ३ हजार, वेपत्तालाई प्रति परिवार दुई हजार र विस्थापित परिवारलाई प्रति परिवार एक हजारका दरले राहत रकम वितरण गरिएको हो ।

