खाँदबारी। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति संखुवासभाले २४ औं स्थापना दिवश मनाएको छ ।
शनिबार पत्रकार महासंघको कार्यालय खाँदबारीमा फोनिजले २४ औं स्थापना दिवशको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । फोनिजका जिल्ला अध्यक्ष नवीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला सचिव युवराज याम्फू प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी याम्फुले यो मुलुकको आदिबासी जनजातिहरु भूमिपुत्र भएकाले आदिबासीको मुद्धामा पत्रकारहरुले खुलेर कलम चलाउनुपर्ने बताए । उनले कोशी प्रदेशको नामाकरणको बारेमा धेरै खुल्दुली र नामको विषयमा विवाद रहेकाले फोनिजकर्मीहरुले त्यसको बारेमा स्पष्ट ढंगले कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष कृष्णराज शाक्यले संखुवासभामा आदिबासी जनजाति पत्रकारहरुको नै बाहुल्यता रहेको बताउर्दै आदिबासीको मुद्धामा पत्रकारहरु सचेत रहेको बताए । त्यसैगरि प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्यले आदिबासी जनजाति पत्रकारहरु सचेत ढंगले कलम चलाउर्दै आएको र आगामी दिनहरुमा समेत निरन्तरता दिइने बताए ।
त्यसैगरि प्रेस चौतारी संखुवासभाका अध्यक्ष प्रेम निरौलाले फोनिज संस्था स्वच्छ पत्रकारहरुको संस्था भएकाले आफूलाई समेत सदस्यता दिनुपर्ने माग गरे । उनले आदिबासीहरु मात्रै भनेर खस आर्यहरुलाई विभेद गर्न नहुने बताउर्दै एकैठाउँ बसेर काम गर्ने वातावरण बनाउन आग्रह गरे ।
प्रेस सेन्टरका अध्यक्ष अनिष विष्टले जुनसुकै पत्रकारहरुको संस्था बनेपनि पत्रकारको हकअधिकारको लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा आग्रह गरे ।
फोनिजका अध्यक्ष नवीन गुरुङले आदिवासी जनजातिहरुको संस्था फोनिज भएकाले आफ्नो हकअधिकार र आदिबासीको मुद्धामा सचेत रहेको धारणा राखेका थिए । उनले कार्यक्रमको निमन्त्रणालाई स्वीकारे आउनु सम्पूर्णलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम फोनिजका जिल्ला सचिव ध्यान कुलुङले संचालन गरेका थिए ।