खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा सम्पन्न १ नम्बर प्रदेश स्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाले जितेको छ । शनिबार भएको फाइनल खेलमा भोजपुर भलिबल टिमलाई ३–१ को अन्तरले हराउँदै ओखलढुङ्गाले उपाधि जितेको हो ।
उक्त प्रतियोगितामा झापा भलिबल टिम तेस्रो र पाँचथर चौथो भएको छ । प्रतियोगितामा ओखलढुङ्गाका समीप श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भए । बेष्ट स्पाईकर ओखलढुङ्गाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, ब्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी घोषित भए ।
विजयी ओखलढुंगाले १ लाख ११ हजार १ सय ११ रुपियाँ नगद, २१० तोला चाँदीको शिल्ड र ३/३ तोला चाँदीको मेडल प्राप्त गरे । त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपियाँ ट्रफि र २/२ तोला चाँदीको मेडल प्राप्त गरेका छन् । १८ गतेदेखि सुरु भएको खेलमा प्रदेश १ का १२ जिल्ला र एक आयोजक टिमसहित १३ टिम सहभागी थिए । सहभागीलाई खान बस्नको व्यवस्था गरिएको यो खेल २०७१ सालदेखि प्रत्येक २/२ बर्षमा हुने गर्दछ । प्रतियोगिता सुर्य सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको हाे ।