संखुवासभाको खाँदबारी नगरपालिकाले आर्थिक बर्ष २०७७÷ ०७८ मा गठन भएर समयमै योजना सम्पन्न गर्ने महिला उपभोक्ता समितिलाई नगरपालिकाले पुरस्कृत गरेको छ । खाँदबारीले उपभोक्ता समिति मार्फत समय अवधिमै योजना सम्पन्न गर्ने महिला उपभोक्ता समितिलाई योजनाहरुको कुल रकमको ३ प्रतिशत रकमले पुरस्कृत गरेको हो । समयमै योजना सम्पन्न गर्ने ४७ वटा महिला उभोक्ता समितिलाई पुरस्कृत गरेको खाँदबारी नगरपालिका नगरप्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिए ।
महिला नेतृत्वलाई विकास निर्माणका कार्यमा लगाउने उदेश्यले महिलाहरुको सहभागिता गराउन विनियोजित रकमको ३ प्रतिशतले पुरस्कृत गर्ने निर्णय गरेको थियो । घरका चुलोचौको र घरयासी काममा मात्र समित हुने महिलाहरुलाई विकास निर्माणमा सहभागिता गराउन नगरपालिकाले महिला उपभोक्ता समितिलाई पुरस्कृत गरिएको नगरप्रमुख खतिवडाले बताए । महिला उपभोक्ता समिति मार्फत समय अवधि भित्रै योजना सम्पन्न गर्ने महिला उपभोक्ता समिति पुरस्कृत गरेको उनले बताए । गतबर्षको नगरसभाले समय अवधि भन्दा अघिनै निर्माण सम्पन्न गरेका महिला उपभोक्ता समितिलाई पुरस्कृत गर्ने निर्णय अनुसार पुरस्कृत गरेको नगरप्रमुख खतिवडाले बताए ।
खाँदबारी नगरपालिका रहेका चार सय ६९ योजना मध्ये ४७ वटा योजना महिला उपभोक्ता समिति मार्फत सम्म्पन्न भएका थिए । समयमा नै योजना सम्पन्न गर्ने ४७ वटै महिला उपभोक्ता समितिलाई एक कार्यक्रम मार्फत पुरस्कृत गरेको खाँदबारी नगरपालिका योजना शाखाका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । महिला उपभोक्ता समिती मार्फत सडक ढलान, धाराकुवाँ निर्माण, सोलिङ तथा नालि निर्माण, विद्यालय भवन निर्मांण र कुलो निर्माण लगायतका योजना निर्माण भएको खाँदबारी नगरपालिकाले जनाएको छ । महिलाले पनि पुरुषले जस्तै चुलो चौको छाडेर विकास निर्माण गर्ने सक्ने खाँदबारी –३ गुवाबारी अमृतेश्वर मन्दिर निर्माण उपभोक्ता समितिकी अध्यक्ष भुमादेवि पाण्डे खत्रीले बताएकी छन् । सुरुका दिनमा काम गर्ने केही असहज भए पनि निरन्तर काम गरेर समय अवधिमै योजना सम्पन्न गरेर पुरस्कृत हुदाँ खुसी लागेको अध्यक्ष खत्रीले बताइन् । पुरुष उपभोक्ता समिति मार्फत निर्माण योजना भन्दा महिला उपभोक्ता समिति मार्फत बनेको योजना गुणस्तरीय र पारर्दर्शी भएको खाँदबारी–१ सडक मर्मत योजनाकी सचिव गोमा थापाले बताइन् । महिला मात्रै भएका उपभोक्ता समितिमा आर्थिक अनियमितता समेत नहुने र समयमा काम सम्पन्न हुने भएकाले यसलाई प्रोत्सान स्वरुप पुरस्कृत गर्ने कार्यक्रम राखिएको नगरप्रमुख खतिवडाले बताए । महिला मात्र भएको उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजनाहरु अन्य भन्दा प्रभावकारी समेत भएको नगर प्रमुख खतिवडाको भनाई छ ।