खाँदबारी । जिल्लाको खाँदबारी नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्याक्रम प्रस्तुत गरेको छ । शुक्राबार प्रस्तुत १२ औं नगरसभामार्फत खाँदबारीको आर्थिक विकासका लागि कृषिलाई प्राथकितामा राखेर नीति तथा कार्यक्रम ल्याएको हो ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउँदै समग्र कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्ने लक्षका साथ महत्वकांक्षि कार्यक्रम तथा योजनाहरु नगर प्रमुख महेश थपलियाले प्रस्तुत गरेका छन् । नगर प्रमुख थपलियाले एक वडा एक कृषि तथा पशुसेवा केन्द्र स्थापना, रैथाने प्रजातिका पशुपन्छीहरुको संरक्षण गर्ने लगायतका योजना सार्वजनिक गरेका हुन् । खाँदबारी र तुम्लिङटार क्षेत्रमा फलफुल तथा तरकारी संकलन र भण्डारणको लागि शीत भण्डार निर्माणलाई समेत प्राथमिकताको क्रममा राखिएको छ । नगर प्रमुख थपलियाले निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगर बस सञ्चालन, एक घर एक धारा जस्ता कार्यक्रमहरुको तय गरेका छन् । भौतिक पुर्वाधार विकास तथा यातायात सम्बन्धी नीतिमा नगर भित्र सञ्चालन हुने साना सवारी साधनहरु नगरपालिकामा दर्ता गरि सञ्चालन गर्ने, उत्तर दक्षिण सडकको खाँदबारी नगरभित्रका सडकहरुमा पर्ने जग्गाको लगत कट्टा गर्ने जस्ता नीति अवलम्बन गरिनेछ ।
वन वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीति अन्तर्गत फोहोरमैलाको उचित व्यवस्थापन गरी ल्यान्डफिल्ड साईटालई व्यवस्थित गर्ने उल्लेख गरिएको छ । पर्यटन सम्बन्धी नीतिमा पर्यटकीय क्षेत्रहरुको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसारमा जोड दिने नीति अवलम्बन गरिएको छ । सुनसरीको चतरा देखि खाँदबारीको मनकामना सम्म जलयातायतका साधनहरुको सञ्चालनका लागि समन्वय र सहकार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी शिक्षा तथा खेलकुद नीति अन्तर्गत प्राविधिक विषय अध्ययन अध्यापन गराउन प्रोत्साहान देखि प्राविधिक शिक्षालय स्थापना र संचालन गर्ने नीति दिएको छ । नरबहादुर कर्मचार्य फाउण्डेसन सँगको सहकार्यामा प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य दिइएको हो । साथै अरुण उपत्यकामा स्थापना हुने योगमाया आयुर्वेद विश्वविद्यालयको संचालनमा यस नगरपालिकाले नेतृत्वदायी भुमिका निर्वाह गर्ने संकल्प प्रस्तुत गरेको छ । एसइइ उत्तीर्ण जेहेन्दार विद्यार्थी लक्षित नगरप्रमुख छात्रवृत्ती कोष स्थापना गर्ने नीति अवलम्वन गरिएको छ ।
स्वास्थ्य नीति अन्तर्गत हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य सम्बन्धी प्रयोगशाला स्थापना गरी संचालन गर्ने कार्यको थालनी गरिने नीति प्रस्तुत गरिएको छ । नगरपालिकामा दर्ता भएका मजदुरहरु, संघ तथा प्रदेश सरकारबाट विमा सुविधा प्राप्त नगर्ने अपांगहरु तथा एकल महिलाको स्थास्थ्य विमाको लागि नगरपालिकाले सहयोग गर्ने कार्यक्रम तय भएको छ ।
सामाजिक नीति अन्तर्गत सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गर्ने तथा महिला, बालबालिका, अपाङ्ग लगायतका क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्ने समेत निती अवलम्बन गरिने बताईएको छ । नगर प्रमुख थपलियाले नगरभित्र निर्माण हुने भवनहरु अपाङ्गमैत्री भवन निर्माण गर्ने बताएका छन् । नगरपालिकाको सेवा प्रवाहसंगै सुशासनमा समेत विशेष ध्यान दिएको छ । मुस्कान सहितको सेवा, छिटो र छरितो दिने गरि विभिन्न कार्य गरिने निती ल्याईएको छ । नगरभित्र सञ्चालित निजी विद्यालयहरु, ठुला साना सबै व्यवसायलाई करको दायरामा ल्याउने निती अवलम्बन गरिने भएको छ ।
त्यसैगरी शहरी सुविधा आवास तथा वस्ती विकास सम्बन्धी नीति अन्तर्गत नगरपालिका भित्रका सबै घरहरुको नम्बरिङ्ग प्रणालीको सुरुवात गर्दै घरनक्सा पास गर्ने प्रकृयालाई अनलाईन बाट गरिने नीति लिएको छ । सुचना प्रविधि नीति अन्तर्गत प्रविधिमैत्री नगर बनाउन नगरपालिकाले डिजिटल सेवा तथा निःशुल्क इन्टरनेट सेवा लगायतका विषयमा समेत विशेष प्राथमिकता दिईएको छ । रोजगार नीतिमा नगरपालिका कार्यालयमा मजदुरहरुका लागि श्रम डेक्स स्थापना गरी श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजीकरण गरिने छ ।
नगरसभामा उपप्रमुख महेश्वरा श्रेष्ठ बज्रचार्यले आगामी आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक गरेकी छन् । सभामा ७५ करोड ५३ लाख ९० हजार आठ सय रुपियाँको बजेट सार्वजनिक भएको हो ।
खाँदबारी नगरपालिकाकाे नीति तथा कार्याक्रम पुरा हेर्न यहाँ क्लिक गर्नुहाेस्