सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेको गोल्डेन स्टार बोर्डिङका अभिनास भारतीले ३ दशमलब ८ जीपीए ल्याएर जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन्। बुधबार प्रकाशित २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ दशमलब ८ जीपिए ल्याएर भारती जिल्लाकै उत्कृष्ट भएका छन् ।
अभिनासले जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेको गोल्डेन स्टार बोर्डिड स्कूल तुम्लिङ्टारका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए । सामुदायिक विद्यालय र निजी विद्यालयका तर्फबाट सबै भन्दा बढी अंक भारतीले ल्याएका हुन् । सोही विद्यालयका निश्चल भट्टराईले ३ दशमलब ७ जीपिए ल्याई जिल्लाकै दोस्रो भएको अध्यक्ष घिमिरेले बताए ।
२०७८ सालको एसईईमा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी भएकामा सङ्खुवासभाका ३ हजार ७१ विद्यार्थी उत्तिर्ण भएका छन् ।
परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग गराउन सकिने शिक्षा विकास तथा समन्वय इकाईका सङ्खुवासभाका इकाई प्रमुख केशव भट्टराईले बताए । पुनर्योग गराउन चाहेमा प्रकृया पुरागरी शिक्षा विकास तथा समन्वय इकाई वा सोझै राष्ट्रिय परीक्षा बोर्डमा निवदेन दिन सकिने उनको भनाई छ । परीक्षार्थीले निवेदनको साथमा पाँच सय रुपैयाँ राजश्व समेत जम्मा गर्नु पर्ने छ ।
