अरुण सन्देश । जिल्ला अस्पताल संखुवासभाले पुर्वी पहाडी जिल्लामा नै पहिलो पटक सघन उपचारका लागि नयाँ उपकरणहरु भित्राएको छ । औजार उपकरण खरिद कार्य भए सँगै दक्ष विशेषज्ञ चिकित्सकहरु समेत ल्याइएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुमन शाक्यले बताए ।
उपकरण र विशेषज्ञ अभावका कारण सामान्य विरामीको पनि रेफर गर्नु पर्ने बाध्यताको अन्त्य हुने जिल्ला समन्वय समिति प्रमुख शाक्यको भनाई छ । अध्यक्ष शाक्यले भने–‘पहाडी जिल्लामा पहिलो पटक भेन्टिलेटर सहितको आईसियू सेवा तत्काल सुरु हुन लागेको हो ।’ अस्पताल व्यवस्थापनका लागि व्यवस्थापन समितिको अध्यक्ष भएपछि पंचवर्षिय योजना बनाएर कार्य सुरु गरेको शाक्य बताउँछन् । विरामीको चापलाई मध्यनजर गरेर अस्पतालले दुई वटा भेन्टिलेटर सहित २ वेडको आईसियु र एचडिभि सेवा सञ्चालनका लागि अस्पतालले २१ प्रकारका औजार तथा उपकरण खरिद गरेको उनको भनाई छ । यस आर्थिक वर्षमा जिल्ला अस्पतालमा ८ प्रकारका विशेषज्ञ सेवा विस्तार गरिएको शाक्यले बताए । जिल्ला अस्पतालमा ११ औं तहको दरवन्दी भएपनि सरकारले आठौं तहको डाक्टरमा मात्र पठाउँदा सेवा दिन कठिनाई भएको उनि बताउँछन् । ५० सैयाको अस्पताल भएपनि सरकारले दरवन्दी अनुसार डाक्टर पठाउन सकेको छैन । ‘भएकै जनशक्तिलाई व्यवस्थापन गरी सेवा गुणस्तीय सेवा प्रवाहमा प्रभावकारी भुमिका निर्वाह गरेको छु ।’ अध्यक्ष शाक्यले भने ।
सघन उपचारका लागि जनरल फिजिसियन डा.स्मृति आचार्य, आर्थोपेडिक सर्जन(हाड जोर्नी तथा ट्रमा केश) डा. गौरव भण्डारीलाई जिल्ला अस्वपतालले नियुक्ति गरेको छ । जनरल फिजिसियन डा आचार्यले भेन्टिलेटर र आईसियु सञ्चालन गर्नुका साथै विषेशज्ञ सेवा दिने जिल्ला अस्पतालका निमित्त मेसु डा. सुन्दरश्याम झाले जानकारी गराए । भेन्टिलेटर र आईसियु सञ्चालनका लागि विषेशज्ञ ल्याउन कुनिना शैक्षिक गुठीले १८ लाख रुपैयाँ सहयोग गरेको छ । मासिक ३ लाख रुपैयाँका दरले ६ महिनाको पारिश्रमिकका लागि गुठिले आर्थिक सहयोग गरेको हो । थप भएका विशेषज्ञ आचार्य र भण्डारीलाई आन्तरिक कोष र दाताहरुको सहयोगमा पारिश्रमीक दिने व्यवस्था अस्पतालले गरेको डा.झाले अरुण सन्देशलाई जानकारी दिए । यस अघि विशेषज्ञ एमजिडिपी डा. भिम लामाले सेवा दिइरहेका छन् ।
यस आर्थिक वर्षमा अस्पतालले कल्चर सेवा, हाडजोर्नी सेवा तथा सल्यक्रिया(ट्रमा केश), कन्सल्टेन्ट जनरल फिजिसियन सेवा, अक्सिजन प्लान्ट संचालन, आइसियू तथा भेन्टिलेटर सेवा, बिस्तारित स्वास्थ्य सेवा, एबीजी सेवा र सामाजिक ईकाई सेवा सुरु गरेको अस्पतालले जनाएको छ । कल्चर सेवा सुरु भएसँगै विरामीको रोग र रोग लाग्नुको कारण पत्ता लगाएर मात्र विरामीलाई औषधी दिने व्यवस्था सुरु भएको अस्तालका निमित्त मेसु झाले जानकारी दिए । जटिल प्रकारका विरामीका लागि सघन उपचार खाँदबारीमा नै हुने व्यवस्था मिलाएको उनले बताए ।
अस्पतालले विशेषज्ञ सेवा सञ्चालनका लागि डिफिब्रेटर ३ थान, एबिजी मेसिन २ थान, अत्याधुनिक भिडियो एक्सरे मेसिन फोरडि १ थान लगायतका २१ प्रकारका सामाग्री खरिद गरी सञ्चालनमा ल्याएको छ । यस अघि ९ सय मेगावाट अरुण तेश्रो आयोजना एसजेभिएनले अस्पताललाई २ थान भेन्टिलेटर र आईसियु सञ्चालनका लागि आवश्यक उपकरण उपलव्ध गराईसकेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले अरुण सन्देशलाई बताए । पंचपर्षिय योजना अनुसार अस्पताल व्यवस्थापनको कार्य भइरहेको उनले बताए । आर्थिक वर्ष २०७५/०७६ मा भौतिक व्यवस्थापन अन्र्तगत अस्पताल सरसफाई, अस्पतालको छानो फेर्ने, टायल लगाउने र फोहोरमैला व्यवस्थापन लगायतको कार्य गरेको थियो । त्यसैगरी ०७६/७७ मा आन्तरिक कर्मचारी व्यवस्थपन अन्र्तगत कर्मचारी विचको आन्तरीक द्धन्द्धको अन्त्य, कर्मचारीले पाउने सेवा सुविधा व्यवस्थापन लगायतको कार्य गरेको प्रशासन प्रमुख श्रेष्ठले बताए । विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक औजार उपकरण खरिद आर्थिक वर्ष ०७७÷०७८ मा गरिएको उनले जानकारी गराए । चालु आर्थिक वर्षमा विशेषज्ञ थप गरी सेवा समेत विस्तार गरिएको र क्रमश विशेषज्ञ सेवा विस्तारका लागि आवश्यक पहल समेत भइरहेको श्रेष्ठ बताउँछन् । पाँचौं वर्षमा सेवा व्यवस्थापन, सेवा निरन्तरता तथा सुदृढीकरणमा लाग्ने अस्पतालको योजना रहेको छ । यस सँगै रेफर सेन्टरको रुपमा चिनिदै आएको जिल्ला अस्पतालले अव गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेमा सेवाग्राहीको अपेक्षा रहेको छ ।
विस्तारीत स्वास्थ सेवा सुरु
जिल्ला अस्ताल संखुवासभामा अव विरामीले आफुले चाहेको विशेषज्ञ चिकित्सक सँग विरामी परिक्षण, निदा तथा उपचार गराउन पाउने व्यवस्था मिलाउने भएको छ । विस्तारीत स्वास्थ्य सेवा अन्र्तग विरामीले १ बजे पछि विशेषज्ञ चिकित्सकलाई भेटेर परार्मश लिन पाउँने भएका छन । विदाको दिन बाहेक दैनिक विहान १० बजे देखि १ बजे सम्म ओपीडि सेवामा स्वास्थ्य चेकजाँच गराउने व्यवस्था रहेको अस्पतालका निमित्त मेसु डा. सुन्दरश्याम झाले बताए । उपलब्ध विशेषज्ञले १ बजे देखि ४ बजे सम्म विरामीलाई परामर्श दिने छन् । विशेषज्ञ चिकित्सक सँग परामर्श लिनका लागि विरामीले थप दुई सय रुपैयाँमा सेवा लिन सक्ने डा. झाले जानकारी गराए । यस अघि विरामीले आफुले चाहेको चिकित्सक सँग परार्मश लिन सक्ने व्यवस्था थिएन ।
लक्षित वर्गका लागि सामाजिक सेवा इकाई
उपाचारका लागि आएका कसैले पनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित हुन नपरोस भनेर जिल्ला अस्पताल संखुवासभाले सामाजिक सेवा इकाईबाट सेवा प्रवाह सुरु गरेको हो । १२ प्रकारका लक्षित समुहमा रहेर अस्पतालले सेवा दिन सुरु गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले अरुण सन्देशलाई जानकारी दिए । यस सेवा अन्र्तगत ५० प्रतिशत देखि सय प्रतिशत सम्म शुल्क छुट गर्ने व्यवस्था मिलाइएको प्रमुख शाक्यले बताए । प्रमुख शाक्यले भने–‘गरिव, अतिगरिव, असहाय, अपाङ्गता, जेष्ठ नागरीक, विपद् एवम् प्राकृतिक प्रकोप पिडित, शहिद परिवार लगायतका १२ लक्षित समुहलाई सेवा शुल्कमा छुटको व्यवस्था गरेका छौं ।’ छुटका लागि अस्पतालले लक्षित समुहलाई सेवा दिने अधार समेत तयार गरेको छ । गरिवका लागि गरिवको परिचयपत्र बहाक अनुसुचि २ अनुसार मापदण्ड भएको हुनु पर्ने र अतिगरिवले सय प्रतिशत, गरिवले ५० प्रतिशत छुट पाउने छन् । यि सेवा लिनका लागि लक्षित वर्गले परिचय खुल्ने परिचय–पत्र लिएर आउँदा सेवा सहज रुपले प्राप्त गर्न सक्ने अस्पताल श्रोतले जनाएको छ ।