नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सुरु गरेको अभियान क्रममा सङ्खुवासभाका ६० वडाको नेता कार्यकर्ता पुगेका छन् । तीन महिनासम्म चल्ने जनतासँग माओबादी विशेष रूपान्तरण अभियान क्रममा हालसम्म ७६ वडा मध्ये ६० वडामा अहिले माओबादीको अभियान चलिरहेको छ । माओबादी केन्द्रले गत भदौ १६ गते अभियान सुरु गरेको हो ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरर्गत ६० वडामा अभियान सञ्चालन भइसकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सङ्खुवासभा इन्चार्ज हेमकुमार राईले जानकारी दिए । अभियानका क्रममा पार्टीले विभिन्न ठाउँमा श्रमदान समेत भइरहेको उनले जानकारी दिए । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा जिल्लाका १० स्थानीय तहमा तीन जना केन्द्रिय सदस्य र कोशी प्रदेश उपाध्यक्ष सहित चार जना नेताहरुलाई वडाको कमाण्डर बनाएर मैदानमा पठाएको छ । माओवादीले ३२ वडामा बैठक समेत सम्पन्न गरिसेको जनाएको छ । अभियानका क्रममा मतदाता,सहिद तथा घाइते अपाङ्ग परिवार भेटघाट र सहिदको समादीस्थल पुग्ने जिल्ला इज्चार्ज राईले बताउनुभयो । अभियानमा पार्टी वडा कमिटी बैठक र गठन चलिरहेको उहाँको भनाइ छ । माओवादीले केन्द्रीय सदस्यहरुलाई वडा तहसम्म पुर्याउने निर्णय गरेको थियो ।