सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर र खाँदबारी नगरपालिकाको मतदान सुरु भएको छ । चैनपुर–६ को सरस्वती माविको ‘ख’ केन्द्रमा र खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङ ‘ख’ केन्द्रमा मतपत्र फरक परेपछि मतदान स्थगित भएको थियो ।
महेन्द्र माविको ‘ख’ केन्द्रमा ३१ वटा मतपत्र र सरस्वती माविको ‘ख’ केन्द्रमा ४१ वटा मतपत्र साटफेर भएपछि मतदान रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सङ्खुवासभाले जनाएको छ ।
महेन्द्र माविमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभामा र प्रदेश सभाको प्रतिनिधी सभामा साटीएको थियो । त्यसैगरी सरस्वती माविमा प्रतिनिधीसभाको मतपत्र प्रदेशसभामा साटिएपछि मतदान रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महेन्द्र माविको त्यस अघि भएको मतदानलाई त्यही अवस्थामा सिल गरी नयाँ मतपेटिका मतदान गर्ने सहमति भएपछि मतदान सुरु भएको हो ।
चैनपुरमा मतपत्र नं. ०७७४२०१ दखि ०७७४२४१ सम्मको मतपत्र बद्धर गरी यस अघिको मत पेटिका परिर्वतन गर्ने सहमति पछि पुन मतदान सुरु भएको छ । मतदान अधिकृत उमेश अधिकारीले हस्ताक्षर गरिसकेको मतपत्र प्रयोग गरिसकेपछि बाँकी मतपत्रमा सहायक मतदान अधिकृत उमाकान्त ढकालको हस्ताक्षरबाट सञ्चालन गर्ने समेत सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि पुरुष ६० हजार ८ सय ६४ र ५६ हजार ६ सय ९० महिला सहित १ लाख १६ हजार ५ सय ५४ मतदाता रहेका छन् । प्रदेशसभा (१) मा पुरुष ३० हजार ६ सय ६३ र महिला २८ हजार ३ सय ६६ सहित ५९ हजार २९ मतदाता रहेका छन् । त्यस्तै गरी प्रदेशसभा (२) मा पुरुष ३० हजार २ सय १ र महिला २८ हजार २८ हजार ३ सय २४ सहित ५८ हजार ५ सय २५ मतदाता रहेका छन् ।
प्रतिनिधिसभा सदस्यमा दुई स्वतन्त्र सहित १२ जना चुनावि प्रतिस्पर्धामा छन् । त्यस्तै गरी प्रदेश सभा (१) मा एक एक स्वतन्त्र सहित ८ जनाको उम्मेदवार छन् । प्रदेश सभा (२) तर्फ २ स्वतन्त्र सहित ९ जना उम्मेदवार छन् ।