संखुवासभा। सङ्खुवासभा प्रदेश निर्वाचन क्षेत्र (क) बाट निर्वाचित राजेन्द्र कार्की (नवीन) कोसी प्रदेशको मन्त्रिमा नियक्त भएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री नियुक्त गरेका थिए । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।
को हुन् कार्की ?
प्रमाणपत्र तहसम्म अध्ययन गरेका कार्की २०३२ साल साउन १७ गते खाँदबारी नगरपालिका–७ राम्चेमा जन्मिएका हुन् । उनी २०४६ सालदेखि वाम राजनीतिमा झुकाव राखेर अघि बढे ।
अनेरास्ववियुको प्रारम्भिक कमिटीमा बसेर २०४७ सालदेखि राजनीति सुरु गरेका उनी अखिलको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म बने । भूमिगतकालदेखि नै अर्थात २०५४ सालदेखि उनी माओवादीमा आवद्ध भए । हालसम्म माओवादीका विभिन्न कमिटीमा रहेर काम गरेको अनुभव उनीसँग छ । कार्की पार्टीको विभिन्न कमिटीमा रहेर सामाजिक र राजनैतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका नेता हुन् । माओवादी विद्रोहका क्रममा २०६१ सालमा भारतको पटनामा जेल परे । २ वर्ष जेल जीवन बिताएका कार्की हाल माओवादीका केन्द्रीय सदस्य एवं संखुवासभा इन्चार्ज समेत छन् । उनकी पत्नी इन्दिरा मिश्र कार्की (चेतना) पनि माओवादी राजनीतिमै सक्रिय छिन् ।