दिङ्ला । भोजपुरको षडानन्द नगरपालिकाले गर्भाअवस्था देखि सुत्केरी अवस्थासम्म सेवा निरन्तरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । षडानन्द नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दुई दिने गर्भाअवस्था देखि सुत्केरी अवस्थासम्म सेवा निरन्तरता सम्बन्धी कार्यक्रम आज सम्पन्न भएको छ । नगरभित्रका १४ वटै वडाका १५ वटा संस्थामा कार्यरत नसिङ्ग कर्मचारीलाई तालिम दिइएको हो ।
नगरभित्रका नसिङ्ग कर्मचारीलाई आमा सुरक्षा सम्बन्धी दुई दिने अभिमुखिकरण दिइएको षडानन्द नगरपालिका स्वास्थ्य शाखाकी सह–संयोजक अमृता तामाङले जानकारी दिइन् । सुत्केरी तथा गर्भवती महिलाको ज्यान बचाउन आर्थिक बर्ष २०८०/०८१ मा सासु बुहारी अन्तरक्रिया समेत गर्न भएको स्वास्थ्य शाखाकी सह–संयोजक तामाङले बताएकी छन् । अशिक्षा र अज्ञानताका कारण सुत्केरी तथा गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको उहाँको भनाइ छ । षडानन्द नगरपालिका भित्रका १५ वटा स्वास्थ्य संस्था मध्ये ७ वटा बर्थिक सेन्टर रहेका छन् । षडानन्द नगरपालिकामा यस आर्थिक बर्षमा १ सय ४० जनाले सेवा लिएका छन् । भने २ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् ।