खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड ५९ लाख ६२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख सुनिता भट्टराई दाहाल ले नगरसभामा बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट, आन्तरिक आय तथा बैंक मौज्दातलाई आयको प्रमुख स्रोतका रूपमा उल्लेख गरिन्।
प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट ३१ करोड २३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट ४ करोड १५ लाख १७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। त्यसैगरी संघीय राजस्व बाँडफाँटबाट ७ करोड ५१ लाख ८७ हजार रुपैयाँ, प्रदेश सवारी साधन कर बाँडफाँटबाट ५७ लाख ५८ हजार २५० रुपैयाँ र आन्तरिक आयबाट १ करोड २ लाख ६० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
नगरपालिकाले स्थानीय राजस्व बाँडफाँटबाट ७ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ भने गत वर्षको बैंक मौज्दात ६ करोड ३ लाख ३७ हजार ३२२ रुपैयाँ समेत आगामी वर्षको बजेटमा समावेश गरिएको छ।
नगरप्रमुख जीवन लिङ्थेपले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता राखेर निति तथा कार्यक्रम प्रस्तुत गरे। नगरप्रमुख लिङ्थेपले सीमित स्रोतसाधनका बाबजुद जनताको आवश्यकता र विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए । नगरसभाबाट बजेट पारित भएपछि आगामी आर्थिक वर्षदेखि कार्यक्रम कार्यान्वयन हुने छ।
पूर्वाधार विकासमा १० करोडभन्दा बढी बजेट
बजेटमा सबैभन्दा बढी रकम सडक तथा भौतिक पूर्वाधार विकासका योजनामा विनियोजन गरिएको छ। ओखरबोटे–मावादिन–नुनढाकी सडक, ओखरबोटे–मुल्कखर्क–मंगलबारे सडक, वडा कार्यालय भवन निर्माण, पर्यटन पूर्वाधार तथा विभिन्न सडक स्तरोन्नति योजनाका लागि १० करोड ८३ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ।
कृषि र पशुपालनमा प्रोत्साहन
कृषि क्षेत्रतर्फ तरकारी खेती प्रवर्द्धन, प्लास्टिक टनेल वितरण, जैविक विषादी, बीउबिजन वितरण तथा कृषकलाई अनुदानका कार्यक्रम सञ्चालन गरिने भएका छन्। पशु सेवातर्फ कृत्रिम गर्भाधान, पशु रोग नियन्त्रण, औषधि खरिद तथा प्रयोगशाला सामग्री व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ।
शिक्षामा १ करोड ८१ लाखभन्दा बढी
शिक्षा क्षेत्रका लागि १ करोड ८१ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्वयंसेवक शिक्षक, बालविकास सहजकर्ता, स्थानीय पाठ्यपुस्तक, इ–हाजिरी प्रणाली, राष्ट्रपति रनिङ शिल्ड, छात्रवृत्ति तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरिनेछन्।
स्वास्थ्य सेवामा सुधार
स्वास्थ्य तथा आयुर्वेद क्षेत्रका लागि ९७ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याइएको छ। अत्यावश्यक औषधि खरिद, गर्भवती तथा सुत्केरी महिलाका लागि एम्बुलेन्स सेवा, स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, स्वास्थ्यकर्मी तालिम तथा स्वास्थ्य संस्थाको व्यवस्थापनमा बजेट खर्च गरिनेछ।
युवा, खेलकुद र सामाजिक विकासमा लगानी
नगरपालिकाले युवा तथा खेलकुद क्षेत्रका लागि विभिन्न खेल प्रतियोगिता, तेक्वान्दो प्रशिक्षण तथा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न बजेट व्यवस्था गरेको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको छ।
विपद् व्यवस्थापनका लागि छुट्टै कोष
नगरपालिकाले बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक विपद्सँग जुध्न १५ लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा विनियोजन गरेको छ। नगरपालिकाले प्रस्तुत गरेको बजेटले ग्रामीण सडक विस्तार, शिक्षा र स्वास्थ्य सेवा सुधार, कृषि उत्पादन वृद्धि तथा रोजगार सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। बजेट कार्यान्वयनमार्फत स्थानीयस्तरमा विकास निर्माणका गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नगर प्रमुख रोजगार कार्यक्रम : बजेटका मुख्य आकर्षणमध्ये एक
मादी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा "नगर प्रमुख रोजगार कार्यक्रम" लाई विशेष प्राथमिकता दिएको छ। कार्यक्रममार्फत बेरोजगार युवालाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने तथा श्रममा आधारित विकास निर्माणका कामलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। नगर प्रमुख रोजगार कार्यक्रमअन्तर्गत अधिकांश वडाहरूमा समेत साझेदारी कार्यक्रममार्फत छुट्टाछुट्टै बजेट व्यवस्था गरिएको छ।
कार्यक्रममार्फत सडक स्तरोन्नति, पदमार्ग निर्माण, खानेपानी, सिंढी निर्माण, सडक सरसफाइ, सामुदायिक पूर्वाधार निर्माण तथा मर्मतका कार्यहरू सञ्चालन गरिने जनाइएको छ। वडा नं. १ देखि ९ सम्मका विभिन्न योजनामा नगर प्रमुख रोजगार कार्यक्रम साझेदारीका आधारमा बजेट समावेश गरिएको छ। नगरपालिकाले यस कार्यक्रममार्फत स्थानीय श्रमशक्तिको उपयोग गर्दै विकास निर्माणलाई तीव्रता दिनुका साथै युवालाई स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरेको छ। रोजगारसँगै गाउँ–टोलका साना पूर्वाधार निर्माणमा समेत कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।