खाँदबारी । खाँदबारी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ९८ लाख ६९ हजार रुपैयाँको बजेट परिधिमा आधारित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख महेश थपलियाले २०औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि आधुनिकीकरण, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले आगामी वर्ष कृषि क्षेत्रलाई व्यावसायिक र आधुनिक बनाउने, किसानलाई बाली तथा पशु बीमामा जोड्ने, उत्पादनमुखी खेतीलाई प्रोत्साहन गर्ने तथा कफी, ड्रागन फ्रुट, एभोकाडो लगायत नगदे बालीको विस्तार गर्ने नीति लिएको छ। किसानका उत्पादनलाई बजारसँग जोड्न सहकारीमार्फत बजारीकरण र कोल्ड स्टोर सञ्चालनलाई समेत प्राथमिकता दिइएको छ।
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री विद्यालय निर्माण, ई–लाइब्रेरी, भर्चुअल कक्षा सञ्चालन तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न ‘नगर प्रमुख छात्रवृत्ति कोष’ स्थापना गरिने भएको छ। विद्यालय तहमा योग, ध्यान तथा आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
सुशासन र सेवा प्रवाहमा प्रविधिको विस्तार
नगरपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल प्रणालीको प्रयोगलाई विस्तार गर्ने भएको छ। राजस्व संकलन, सामाजिक सुरक्षा, योजना व्यवस्थापन, ई-अटेन्डेन्स, अनलाइन राजपत्र तथा विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने नीति लिइएको छ। कुल दरबन्दी २१४ लाई १७३ मा झारिएकाे छ ।
कृषि आधुनिकीकरण र किसान प्रोत्साहन
कृषि क्षेत्रलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यसहित कृषि यान्त्रिकीकरण, बाली तथा पशु बीमा, फलफूल तथा नगदे बाली विस्तार, कृषक परिचयपत्र वितरण र उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ। कफी, ड्रागन फ्रुट, एभोकाडो, अम्बा तथा रैथाने बालीको उत्पादन बढाउन विशेष कार्यक्रम ल्याइने जनाइएको छ। खाँदबारी नगर भित्र ५० मुरी भन्दा बढी धान उत्पादन गर्ने किसमानहरुलाई प्राेत्साहान गरिने भएकाे छ ।
उद्योग, व्यापार र सहकारी प्रवर्द्धन
स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको संरक्षण र विकास, औद्योगिक ग्राम स्थापना, सुक्खा बन्दरगाह निर्माणका लागि पहल तथा सहकारी क्षेत्रको सुदृढीकरणलाई प्राथमिकता दिइएको छ। बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइने नगरपालिकाको नीति छ।
पर्यटन क्षेत्रको विकासमा जोड
नगरभित्रका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने भएका छन्। ५०५ सिडी, थालेडाँडा, रमिते, शहीदपार्क, चारधारा, छहरेछाँगा, फिर्फिरे डाँडा लगायतका पर्यटकीय गन्तव्यको विकास, स्वागतद्वार निर्माण, होमस्टे विस्तार तथा पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। फुटसल, स्वीमिङ पुल निर्माण र सञ्चालन गर्न चहाने व्यक्त्ती तथा संस्थाहरुलाई आवश्यक सहयाेग गर्ने ।
सिँचाइ र खानेपानीमा लगानी
खाँदबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा नगरवासीलाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउने तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने नीति लिएको छ। नगर प्रमुख महेश थपलियाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खानेपानीको पहुँच विस्तार र वातावरणीय स्वच्छतालाई उच्च प्राथमिकता दिइएको छ।
हिमालय माध्यमिक विद्यालय परिसरमा एक लाख लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरी वितरण प्रणाली विस्तार गरिने भएको छ। साथै मासिस्मा खानेपानी आयोजनाको पुनर्निर्माण सम्पन्न गरी खाँदबारी बजारसहित नगर क्षेत्रमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
शिक्षा सुधारका महत्वाकांक्षी योजना
सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री विद्यालय निर्माण, ई–लाइब्रेरी, भर्चुअल कक्षा सञ्चालन, स्थानीय पाठ्यक्रम परिमार्जन तथा छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न ‘नगर प्रमुख छात्रवृत्ति कोष’ स्थापना गरिने भएको छ। कुनै एक विद्यालयलाइृ प्रविधिमैत्रि बनाउन आवश्यक व्यवस्था मिलाइने भएकाे छ । विद्यालका प्रधानाध्यापकहरु सँग कार्यसम्पादन सम्झाैता गरी उपलब्धिका आधारमा प्राेत्साहनकाे गरिने भएकाे छ ।
स्वास्थ्य सेवा विस्तार र सुधार
मिर्गौला रोगीका लागि डायलाइसिस सेवामा सहयोग, रक्त बैंक स्थापना, मानसिक स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा विपन्न बिरामीलाई उपचार सहयोगका कार्यक्रम सञ्चालन गरिने भएका छन्। स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिमा समेत जोड दिइएको छ।
भाषा, संस्कृति र सम्पदा संरक्षण
स्थानीय भाषा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ। मनकामना क्षेत्रको धार्मिक पर्यटन विकास, संग्रहालय स्थापना तथा विभिन्न जातजातिको सांस्कृतिक पहिचान संरक्षणमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।
महिला, बालबालिका र समावेशी विकास
महिला सशक्तीकरण, बालअधिकार संरक्षण, दलित तथा आदिवासी जनजातिको क्षमता विकास, अपाङ्गता भएका व्यक्तिको उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ। बालश्रममुक्त नगर घोषणा अभियानलाई निरन्तरता दिइने जनाइएको छ।
खेलकुद र युवा विकासमा विशेष प्राथमिकता
खाँदबारीलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित रंगशाला विस्तार, क्रिकेट मैदान निर्माण, स्विमिङ पुल निर्माण तथा विभिन्न खेल प्रतियोगिता सञ्चालन गरिने भएका छन्। युवालाई उद्यमशीलता र स्वरोजगारसँग जोड्ने कार्यक्रम समेत ल्याइने भएको छ।
पूर्वाधार विकासलाई निरन्तरता
रिङरोड अवधारणालाई पूर्णता दिने, सडक स्तरोन्नति, सार्वजनिक संरचना निर्माण, विद्युतीय नक्सा प्रणाली लागू गर्ने तथा वैज्ञानिक घर नम्बर वितरणको कार्य प्रारम्भ गरिने भएको छ। नगरभित्रका सडक तथा अन्य पूर्वाधार योजनालाई तीव्र गतिमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ।
नगर प्रमुख थपलियाले सीमित स्रोतसाधनका बाबजुद जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउँदै नीति तथा कार्यक्रम कार्यान्वयनमार्फत ‘समृद्ध खाँदबारी नगर’ निर्माणको लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।