संखुवासभा : सहुलियतपूर्ण कर्जाका लागि खाँदबारी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकले सम्झौतामा हस्ताक्षर गरेका छन् । खाँदबारी नगरपालिकामा भएको एक कार्यक्रम विच बैंकका कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ र खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
अर्थमन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुसार राबा बैंकले पालिका सँग हस्ताक्षर गरेको हो । उद्यमशिलता र स्वरोजगारका लागि नेपालमा नै सम्भावना छ भन्ने सकारात्मक सोचको प्रवर्दन गरी आत्मनिरर्भर अर्थतन्त्रमा टेवा पु¥याउने लक्षका साथ सहुलियतपूण कर्जा मार्फत व्याज अनुदान कार्यत्रम सुरु गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए । कार्यविधिमा कृषि तथा व्यवसायी कर्जा पाँच करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म र विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म दिने व्यवस्था छ । यस्तै महिला उद्यमशीलता कर्जा १५ लाखसम्म दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच करोडसम्म र भूकम्प पीडितको निजी आवास निर्माण कर्जा तीन लाखसम्म दिने व्यवस्था छ । नेपाल राष्ट्र बैंकमार्फत सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तीय संस्थालाई ब्याज अनुदान भुक्तानी गर्ने व्यवस्था सरकारले मिलाएको हो । बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजमा ५ प्रतिशत सरकारले तिरिदिनेछ भने त्यसभन्दा माथिको कर्जाको ब्याज ऋणी आफैले तिर्नुपर्नेछ । यस्तो कर्जाको अवधि पाँच वर्षको हुनेछ । सहुलियतपूर्ण कर्जामा महिलालाई १ दशमलब ७४ प्रतिशत र पुरुषलाई २ दशमलब ७४ प्रतिशत व्याज दरमा ऋण दिनु पर्ने कार्यविधिमा छ ।
२१ पालिकाको रुपमा बैक र खाँदबारी विच सहुलियत पूर्ण कर्जाका लागि सहमतिमा हस्ताक्षर भएको बैंकका निर्देशक श्रेष्ठले बताए । खाँदबारी नगरापलिकाले प्रदेश नं. १ को दोस्रो पालिकाको रुपमा सम्झौतामा हस्ताक्षर गरेको हो । प्रदेश १ मा मोरङको वेलबारी नगरपालिका सँग यस अघि सम्झौता गरिएको थियो । हाल सम्म नेपालमा २ हजार २ सयले सहुलियतपूर्ण कर्जा लिएका छन् ।
सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुसार कार्यक्रम अगाडि बढाइने खाँदबारीका मेयर मुरारीप्रसाद खतिवडाले बताए । युवाले अहिले पनि जोखिम उठाउन आँट गर्न नसकेको भन्दै अब युवालाई तालिम, प्रशिक्षण दिएर सिर्जनशीप सिकाएर उद्यमशील बन्न आँट बनाइने मेयर खतिवडाको भनाईछ । युवाले स्तरीय परियोजना बनाएर नल्याउँदा कर्जा प्रवाहमा समस्या पर्ने भएकाले परियोजना बनाउन र सहजीकरण गर्न खाँदबारी नगरपालिकाले महत्वपूण भुमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रम प्रभावकारी बनाउन अनुगमन र प्रचारप्रसारको आवश्यक रहेको भन्दै यसमा नगरपालिका लाग्ने उपमेयर डेगेश्वरी श्रेष्ठले बताइन् । सरकारले ल्याएको यस कार्यक्रमले समग्र नगरको विकासमा टेवा पुर्याउने उनले बताईछन् ।
