संखुवासभा जिल्लाको खाँदवारीस्थित हिमालय माध्यमिक विद्यालयमा २५ वर्ष प्रधानाध्यापक भएका जंग बहादुर प्रसाद ठाकुरको ८१ वर्षको उमेरमा मृत्यु भएको छ । ठाकुरले २०३६ साल देखि २०६१ पौष १८ सम्म कुशल रुपमा हिमालय माविको नेतृत्व गर्नु भएको थियो । संखुवासभा जिल्लामा “बि ए सर”को उपनामबाट ख्याति कमाएका ठाकुरको जन्म वि.सं.२००१ असोज १८ गते भारतको विहार वेगुसरायमा भएको थियो । यहि चैत्र ५ गते शुक्रबार हिमालय मावि शैक्षिक धराेहर अस्ताएका हुन् ।
तत्कालीन हिमालय हाई स्कूल हालको हिमालय माध्यमिक विद्यालयमा २०२२ सालदेखि वि.ए. उतिर्ण शिक्षकको रुपमा पढाउन सुरु गरेका ठाकुरको क्षमतालाई कदर गर्दै तत्कालीन शिक्षा प्रशासनले बि.सं.२०३६मा प्रधानाध्यापकको जिम्मेवारी सुम्पेको थियो । उहाँको नेतृत्वमा हिमालय माध्यमिक विद्यालयले आफ्नो प्रतिष्ठालाई शिखरमा पुर्याएको थियो, जसको आजको पुस्ताले सार्वजनिक पूँजीका रुपमा जीवित राख्दै आएको छ । विए सरको नेतृत्व–काललाई स्थानीय समाजले विद्यालयको स्वर्णकाल भनेर चित्रण गर्ने गरेको छ ।
उमेर हदका कारण २०६१ पौषमा अवकाश प्राप्त गरेर सेवा निवृत्त जीवनमा प्रवेश गरे पनि उहाँका विद्यार्थीहरु “वि ए सर” भन्ने सम्बोधनलाई श्रद्धापूर्वक लिने गर्छन् । “बि ए सर” कै प्रेरणा र सिकाईका कारण धेरैले उच्च शिक्षा हासिल गरी राज्यको उच्च ओहोदा सम्म पुगेका छन् । देशको उच्चतम् ओहोदामा पुगेका हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरु आफूले हासिल गरेको उचाईमा कहीं न कहीं “बि ए सर” अर्थात जङ्ग बहादुर प्रसाद ठाकुरको शैक्षिक–जगकै योगदान रहेको विश्वास गर्दछन् ।
“बि ए सर”को खाँदवारी आगमन संयोग थिएन । हिमालय हाई स्कूलमा अँग्रेजी विषय पढाउने शिक्षकको खाँचो खट्किन थालेको थियो । त्यो बेला नेपालमा नै अँग्रेजी पढाउने शिक्षक मुश्किलले पाइन्थ्यो । त्यसैले खाँदबारीका राजनीतिक तथा सामाजिक अभिभावक स्वर्गीय सूर्यबहादुर श्रेष्ठको नेत्तृत्वमा स्थानीय सामाजिक तथा शैक्षिक व्यक्तित्वहरुको आग्रहमा समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठ र सामदेव शर्मा अंग्रेजी विषयको शिक्षकको खोजीमा इण्डियाको विहारका शहर अनि गाउँ डुल्न थाले । संयोगवश वेगुसराय भन्ने शहरमा पुगेपछि जङ्ग बहादुर प्रसाद ठाकुरसँग भेट भएछ । र, संखुवासभाको खाँदबारीमा रहेको हिमालय माविको शिक्षक बन्ने प्रस्ताव राख्दा उहाँले दुर्गम गाउँमा बस्न सके शिक्षण गर्ने नसके हेरेर फर्कने मूड बनाएर मञ्जुरी दिनु भएछ ।
त्यसबेला नेपालमा अंग्रेजी, विज्ञान र गणित शिक्षक पाइदैनथ्यो । इण्डियाको गाँउ शहरबाट नेपालमा शिक्षण गर्न आउने चलन थियो । अंग्रेजी मूल विषय लिएर स्नातक गरेर बसेका ठाकुरलाई नयाँ ठाउँको अनुभव लिने चाहना पनि जागेको हुन सक्छ । नेपालबाट गएका श्रेष्ठ लगायतको प्रस्तावमा सहमत भएर ठाकुर नेपाल आउन मन्जुर हुनु भएछ । इण्डियाको मैदानी भूभागमा जन्मीएको, हुर्किएको मान्छे, विकट पहाडको उकाली ओराली जङ्ग बहादुरलाई के थाहा, शिक्षकको खोजीमा इण्डिया पुगेका रामबहादुरको नेतृत्वको टोलीले धरानसम्म मोटरमा जान सकिने र त्यसपछि केही घण्टा मात्र हिँडेपछि खाँदवारी पुगिन्छ भन्ने झुटो जानकारी दिएका रहेछन् । तर ..... । धरानबाट खाँदवारी आउन रित्तो हिड्ने मानिसले तीन दिन लगातार हिँड्नु पथ्र्यो । अरुको जो गत बि ए सरको पनि सोही गत हुनु स्वाभाविक थियो । कहिल्यै नहिँडेको मान्छे तीन दिन लगातार हिँडेर खाँदवारी आई पुग्नु भएको रहेछ ।
बि ए सर स्वर्गीय विश्वनाथ ठाकुर र जिलादेवी ठाकुरको सातौ छोरा हुनुहुँदो रहेछ । सम्पन्न र सम्भ्रान्त परिवारमा जन्मेका बि ए सरका छजना दाजु, दुईजना भाई, एकजना दिदी, र एकजना बहिनी भएको थाहा भएको छ । वेगुसरायका स्थानीय जमिनदार विश्वनाथले सन्तानहरुको लालनपालन र शिक्षादीक्षामा भने कुनै सम्झौता गरेनन् ।
१२ पुन्य तिथि सम्म विद्यालयमा शाेक पु्स्तिका राख्ने
पुर्व प्रअ जंग बहादुर प्रसाद ठाकुरकाे शाेकमा हिमालय माविमा १२ औं पुन्यतिथि सम्म शाेक पुस्तिका राख्ने भएकाे छ । शुुक्रबार हिमालय माविले शाेक विदा दिने निर्णय गरेकाे हिमालय माविका सहायक प्रधानाध्यापक भरत राईले जानकारी दिए ।
सहायक प्रधानाध्यापक राईले भने-उहाँले हिमालय माविको शैक्षिक क्षेत्रमा पुर्याएकाे याेगदान किल्यै विर्सन सकिदैन । हिमालय माध्यमिक विद्यालयको उचाइको पर्याय जङ्गबहादुर प्रसाद ठाकुर सरको निधनको खबरले विद्यालय परिवार स्तब्ध बनेको प्रधानाध्याक ताराबहादुर बुढाथाेकी बताउँछन् । हिमालय माध्यमिक विद्यालय खाँदबारीका संस्थापक, जग्गादाता, चन्दादाता, अक्षयकोष दाता,पूर्व अध्यक्ष, पूर्व विव्यस सदस्यहरु, पूर्व प्रअ, पूर्व शिक्षक, पूर्व विद्यार्थी , अभिभावक, शिक्षा सेवी तथा स्थानीय महानुभावहरु पुर्व प्रअको शाेक पुस्तिकामा हस्ताक्षर गर्न सकिने बताए ।