खाँदबारी । सङ्खुवासभा खाँदवारी नगरपालिका -८ का राजमणि भण्डारीले नगरपालिकामा सुशासन कायम गर्न माग गर्दै ३५ दिने अल्टिमेटम दिएका छन्। नगर प्रमुख तथा उपप्रमुखलाई सम्बोधन गर्दै उनले १५ बुँदे मागपत्र पेश गरेका हुन्।
भण्डारीले नगरपालिकाको कार्यशैली नेता तथा कर्मचारी केन्द्रित भएको भन्दै पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा समेत सुधार नआएको बताएका छन्। उनले सुशासन विपरीतका गतिविधि र जनताप्रतिको व्यवहारमा परिवर्तन नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले दिएको अल्टिमेटमअनुसार ३५ दिनभित्र माग सम्बोधन नभए ३७ औँ दिनदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।
शिक्षा क्षेत्रदेखि खरिद प्रक्रियासम्म सुधारका माग
भण्डारीले पेश गरेको मागपत्रमा शिक्षा, सार्वजनिक खरिद, विकास आयोजना, कृषि, स्वास्थ्य तथा सुशासनका विषय समेटिएका छन्। उनले नगरभित्रका विद्यालयलाई दिइने अनुदान वृद्धि, प्रधानाध्यापक भत्ता बढाउने तथा शिक्षक पदपूर्ति खर्च नगरपालिकाले व्यहोर्ने व्यवस्था गर्न माग गरेका छन्। यस्तै, संस्थागत विद्यालयहरूले लिँदै आएको शुल्कमा नियन्त्रण गर्न सरोकारवालासँग छलफल गरी शुल्कको सीमा तोक्नुपर्ने उल्लेख गरेका छन्। नगरको शिक्षा नियमावली, २०७५ तत्काल संशोधन गर्नुपर्ने माग गर्दै विद्यालयहरूलाई दिइने प्रशासनिक तथा मसलन्द खर्च समयानुकूल वृद्धि गर्नुपर्ने बताएका छन्।

दिगो योजना र पारदर्शितामा जोड
उनले आर्थिक बेरुजु फछ्र्योट नगर्ने सेवा प्रदायकलाई कालोसूचीमा राख्नुपर्ने, दिगो र व्यवहारिक आयोजना मात्र छनोट गर्नुपर्ने तथा पाँच लाख रुपैयाँभन्दा माथिका योजनामा अनिवार्य इ–बिडिङ्ग प्रणाली लागू गर्नुपर्ने माग राखेका छन्।
त्यसैगरी, स्रोत सुनिश्चित नभएका आयोजना कार्यान्वयन नगर्न, बहुवर्षे योजनामार्फत नयाँ नेतृत्वमाथि आर्थिक दायित्व थोपर्ने परिपाटी अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन्। भण्डारीले स्थानीय कृषि उत्पादनको बजार सुनिश्चित गर्न नगरपालिका आफैं संलग्न हुनुपर्ने, विद्युत् आयोजनाबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व रकम प्रभावित क्षेत्रमा खर्च गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, सरकारी सेवा सुविधा नपाउने नागरिकलाई ५० प्रतिशत लागतमा स्वास्थ्य बिमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने पनि उनले बताएका छन्।मागपत्रमा नातावाद र कृपावादका आधारमा नियुक्ति रोक्न, करार कर्मचारी हटाउन तथा नगर कार्यपालिका र नगरसभाका निर्णयहरू सार्वजनिक गर्नुपर्ने विषय पनि समेटिएको छ। भण्डारीले आफ्नो मागप्रति ध्यान नदिइए बाध्य भएर सत्याग्रहको बाटो रोज्नुपर्ने अवस्था आएको बताएका छन्।
