संखुवासभा/ चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको किमाथांका–विराटनगर–रानी सडकको ट्र्याक खोल्ने कार्य दुई वर्षयता अघि बढेको छैन। चट्टान भएको १४ किलोमिटर क्षेत्र निर्माण कम्पनीले काम गर्न नसकेपछि सेनालाई दिने भनिए पनि हालसम्म सुरु भएको छैन। राष्ट्रिय गौरवको यो आयोजनाको काम दुई वर्षदेखि रोकिँदा पनि सरकारको ध्यान गएको छैन।
खाँदबारी–किमाथांका सडकखण्डको १ सय ६२ किलोमिटर सडकमध्ये १४ किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए। उत्तर–दक्षिण (कोसी) सडक कार्यालयले सात खण्डमा विभाजन गरेका ट्र्याक ओपन र स्तरोन्नतिको ठेक्कामार्फत काम सुरू गरेको थियो। च्याम्ताङ देखि घोङगोप्पासम्म १४ किलोमिटर ट्र्याक खोल्न बाँकी छ।
गत भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले किमाथांका–जोगबनी सडकखण्डको १४ किलोमिटर भीर फुटाउने जिम्मा सेनालाई दिने निर्णय ग¥यो। त्यसपछि काम छिटो सकिने आशामा रहेका संखुवासभावासी निर्णय भएको एक वर्ष पुग्न लाग्दा पनि सुरू नभएपछि निराश बनेका छन्।
त्रिदेशीय लिकंरोड किमाथांका–जोगबनी सडकखण्डको भीर फुटाउने जिम्मा सेनालाई दिने निर्णयपछि १४ किलोमिटर क्षेत्रको जिम्मेवारी आफ्नो कार्यालयमा नरहेको आयोजना प्रमुख श्रेष्ठले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोझै सेनासँग सम्झौता गरेर काम अगाडि बढ्ने भएकाले यसबारे कुनै जानकारी नरहने उनको भनाइ छ।
भीर फुटाउन आश्वयक विस्फोटक पदार्थ राख्ने बंकर बनाउने कार्य भने अन्तिम चरणमा पुगेको उनले बताए। च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटर ट्र्याक खोल्ने कार्यले प्राथमिकता नपाउँदा किमाथांका–जोगवनी सडकखण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक ओझेलमा परेको छ। योजनाले ०६५/६६ देखि किमाथांका सडक जोड्न प्याकेजमा काम गरिरहेको सडक हटिया खण्डमा हेलिकप्टरबाट ट्र्याक्टर र स्काभेटर ढुवानी गरेको थियो।
खाँदबारीबाट १ सय ३४ किलोमिटरसम्म सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ। त्यसैगरी किमाथांका नाकाबाट पनि यसअघि नै १४ किलोमिटर सडकको ट्र१ाक खोलिसकिएको छ। दुई वर्षपहिले नै घोङ्गोप्पासम्म सडक मार्ग खुले पनि सडक संरक्षण नहुँदा पहिलेकै अवस्थामा पुग्न लागेको छ।
सिन्धुपाल्चोकबाट तिब्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथांकाबाट १४ किलोमिटर सडक निर्माण भइसकेको छ। शर्मा÷एपेक्स÷कान्छाराम कम्पनीले ट्र्याक खोल्ने ठेक्का लिएको किमाथांकादेखि १९ किलोमिटर ९१६२ देखि १४३ किलोमिटर० सम्मको सडकमध्ये १४ किलोमिटर दुई वर्ष पहिले नै सम्पन्न गरेको थियो।
च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट वरुण दोभानसम्म ८० किमि खण्डमा हिउँदको समयमा मात्र गाडी चल्ने गरेको छ। बर्खामा मुस्किलले फ्याक्सिन्दासम्म यातायात सञ्चालन हुन्छ। हिउँदको समयमा भोटखोला गाउँपालिकाको केन्द्र हटियासम्म ट्र्याक्टर सामान लिएर पुग्ने गरेको छ।
यसरी सडक निर्माण र किमाथांका सडक विस्तारसँगै त्यस क्षेत्रमा चहलपहल बढे पनि किमाथांका नाका भने सञ्चालनमा आउन सकेको छैन। सडक विस्तारसँगै सीमा बीओपी स्थापना भए पनि र भन्सार कार्यालयसमेत स्थापना हुनुपर्ने स्थानीयको माग छ। नेपालकै दुई मित्रराष्ट्र चीन–भारत जोड्ने छोटो सडकको रुपमा रानी विराटनगरदेखि किमाथांका सडकलाई लिइन्छ।
सडक विस्तारले चीनसँग व्यापार बढाउने र जिल्लाका उत्तरी भेगका नागरिकले यातायात तथा अन्य सुविधा पाउनेछन्। यस सडकले एक नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। किमाथांका नाका चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका हो।
६५ प्रतिशत काम सम्पन्न
खाँदबारी–किमाथाङ्का ९१६२ किमि० सडकअन्तर्गत यस आर्थिक वर्षमा ६५ प्रतिशत काम सम्पन्न भएको उत्तर–दक्षिण ९कोसी० सडक आयोजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए। ट्र्याक ओपनबाहेक सडक स्तरोन्नति, चौडा बनाउने, सबबेस तयार र पुल निर्माणको काम भइरहेको छ। अधिकांश ठेक्काको समय यही आर्थिक वर्षमा सकिँदै छ। निर्माण अवधि सकिएका निर्माण कम्पनीले २ पटकसम्म समय थप गर्दा पनि काम सम्पन्न गर्न सकेका छैनन्।
आर्थिक वर्ष २०७६/०७७ मा ८४ करोडमध्ये साढे ५४ करोड मात्र हालसम्म खर्च भएको आयोनाका सूचना अधिकारी आशिष नेपालले जनाए। उनका अनुसार भुक्तानी हुन अझै बाँकी रहेकाले यस महिनाको अन्त्यसम्म थोरै खर्च रकम बढ्ने छ।
चीन र भारत जोड्ने संखुवासभाको किमाथांका नाका सबैभन्दा छोटो नाकाको रुपमा रहेकाले सरकारले गौरवको आयोजनामा राखेको छ। तर प्रभावकारी रुपमा काम नहुँदा सडक विस्तार हुन सकेको छैन। यो सडक खण्ड निर्माणका क्रममा ३ अर्ब खर्च भइसकेको छ। बिराटनगरबाट किमाथांका सम्मको दूरी ३ सय ९० किलोमिटर छ। समयमै काम सकिए किमाथांका नाका चीनसँग जोडिने अन्य ६ वटा नाकाभन्दा सहज हुनेछ ।
९ वटा पुल निर्माणका क्रममा
नुमदेखि बरुण दोभान सम्म ९ वटा सडक पुल निर्माणकोे क्रममा रहेको छ। अधिकांश पुल मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) नगरी ठेक्का लगाएकाले समयमा काम सम्पन्न हुन सकेन। निकुञ्ज क्षेत्रभन्दा वाहिर रहेको फाक्रे खोलाको पुलको काम समेत ५० प्रतिशत मात्र सम्पन्न भएको छ। यी सबै पुलको काम सम्पन्न गर्नुपर्ने समय यही आर्थिक वर्षको अन्त्यसम्म छ।
एकुवा खोला, ठाडो खोला र उवा खोलाको काम भने हालसम्म सुरू हुन नसकेको आयोजनाका सूचना अधिकारी आशिष नेपालले जानकारी दिए। नाङ, चाङ, जोर, उवाङ् र वाङ् खोलाको पुलको प्रगति पनि न्युन रहेको छ। ईआईए नभई ठेक्का लागेका कारण निकुञ्जले काम गर्न रोकेकाले पुल निर्माणको काम ढिलाई भएको नेपालले बताए। यस सडक खण्डमा १८ वटा पक्की पुल निर्माण गर्नुपर्नेछ।