खाँदबारी । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको छ । स्थानीय तेजबहादुर कार्कीको परिवारको अज्ञात समुहले धारिलो हतियार प्रयोग गरी हत्यागरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी गराए ।
सोमबार विहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानिय शिक्षक योगेन्द्र ओझाले जानकारी गराए । ५८ वर्षिय तेजबहादुरकी आमा पार्वता कार्की ८० वर्षिय, श्रीमती मनमाया कार्की ५६, बुहारी रञ्जना कार्की २८ वर्षिय, नाती दिपक कार्की १० बर्षिय र नातिनी गोमा कार्की ५ वर्षिय मृत अवस्थामा भेटिएका शिक्षक ओझाले बताए । घटनाको थप विवरण बुझ्नका लागि डिएसपी सुवेदी सहितको प्रहरी टोली घटना स्थल तर्फ लागेको छ । सदरमुकाम खाँदबारीबाट घटना स्थल पुग्न ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चैनपुरमा प्रहरी निरिक्षक योगराज खतिवडाको टोली भने घटना स्थल पुग्न लागेको छ ।