सङ्खुवासभा । सदरमुकाम खाँदबारीको बजार अनुगमन गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले चाडपर्व सुरु हुनलाग्दा बजार अनुगमन गरेको हो ।
बजार अनुगमनमा जिल्ला प्रशासन, खाँदबारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, खाँदबारी १ नम्बर वडा कार्यालय र संचारकर्मीहरुको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो । उक्त टोलीले खाद्यान्न बिक्रेताहरुको डिलर पसल तथा ब्याबसायीहरुको गोदामको समेत अनुगमन गरेका थिए ।
अनुगमन टोलीले खाँदबारीको मुख्य ४ वटा खाद्यान्न डिलरको अनुगमन गरेको छ । जिल्लामा दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिको अवस्था, संचय, गोदाम र म्याद गुज्रेका सामानहरु अवस्थाको बारेमा निरिक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताए । तीन वटा डिलरको अवस्था राम्रै भेटियो भने एउटा पसलमा केही म्याद गुज्रेका सामान भेटियो भने पसलमा अवश्यकता अनुसार कागजातहरु नभेटिएको हुदाँ ३ दिन भित्र सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएका छौ ।’—घिमिरेले भने ।
जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खाँदबारीका साथै उत्तरी क्षेत्र तर्फको मानेभञ्ज्याङ बजार र दक्षिण तर्फको तुम्लिङटार बजार समेत चाँडै अनुगमन गर्ने प्रशासन कार्यालयले जनाएको छ । अखाद्य तथा म्याद गुज्रेको सामान बेच्ने ब्यापारीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहि गरिने प्रशासनको भनाइ छ । अखाद्य भए सामान जफत तथा जरिवाना गर्ने गरिएको छ ।