खाँदबारी । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई अरुण–३ जलविधुत् आयोजनाको विधुत् गृह प्रवेश मार्गमा मुआब्जा दिन सङ्खुवासभाका सांसद्हरुले माग गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेटेर प्रतिनिधिसभा सदस्य दिपक खड्का र प्रदेशसभा सदस्य राजेन्द्र कार्की(नविन)ले मुआब्जा रकम तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।
प्रधानमन्त्रि कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट गरी जग्गाधनीले पाउनु पर्ने रकम उपलब्ध गराउन लिखित रुपमा माग गरिएको प्रदेशसभा सदस्य कार्कीले जानकारी दिए । प्रदेशसभा सदस्य कार्कीले भने–'मुआब्जा पिडित स्थानीयहरुको मुआब्जा प्राप्तीको माग राखेर गरिरहेको आन्दोलनका कारण उत्पन्न परिस्थितिको बारेमा प्रधानमन्त्री ज्यूलाई गम्भीर ध्यानाकर्षण गराएको छौं ।' भेटका क्रममा प्रधानमन्त्री दाहालले मुआब्जा वितरण गर्ने प्रकृयागत जटिलता र त्यस विषयको गम्भीरता बारे जानकारी दिएका थिए । आगामी मन्त्रीपरिषद् बैठकबाट उक्त मुआब्जा सम्बन्धी आवश्यक निर्णय गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएको प्रदेशसभा सदस्य कार्कीले अरुण सन्देशलाई जानकारी गराए । बैठकले तत्काल रकम उपलब्ध गराउने निर्णय समेत गर्ने विश्वास दिलाएको कार्कीको भनाई छ । सडक क्षेत्रको मुआब्जा नपाउँदा जग्गाधनीहरु पिडित भएकाले उहाँहरुको मागलाई सम्बोधन गराउन प्रधानमन्त्री सँग लिखित माग गरिएको उनले बताए । जग्गाधनिहरु ३७ औं दिन देखि मुआब्जाको माग सहित सडक आन्दोलनमा छन् । मुआब्जा दिन छुट रहेको चार सय ५४ रोपनी जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीहरुले आयोजनाको निर्माण सामाग्रीमा रोक लागएका छन् । यस बाहेको जग्गाको मुआब्जा २०४६ सालमा नै दिएको भएपनि छुट जग्गाको मुआब्जा जग्गाधनीले अझै पाउन सकेका छैनन् । आयोजनाको ६५ प्रतिशत भन्दा बढी काम सम्मपन्न भएपनि जग्गाधनीले मुआब्जा पाएका छैनन् । जग्गाधनिलाई थाहानै नदिई २०६६/६७ सालमा लगत कट्टा भई सरकारी स्वामित्वमा कायम गरिएको पाइएको छ । कतिपय स्थानमा मुआब्जा वितरण भएको भन्दा बढी लगत कट्टा गरी सरकारीका स्वामित्व कायम गरिएको थियो ।