सुमन दाहाल, मादी ।
प्रदेश नं. १ स्तरिय आमन्त्रित महिला फुटवल प्रतियोगिताको सेमिफाईनलमा ४ टिम प्रवेश गरेका छन् । बुधबारबाट संखुवासभाको मादीमा सुरुभएको प्रतियोगितामा कन्काई नगरपालिका झापा, चौदण्डी नगरपालिका उदयपुर, धनकुटा नगरपालिका र पथरी नगरपालिका मोरङ सेमिफाईनलमा प्रवेश गरेका हुन् ।
विहिबार भएको पहिलो खेलमा भोजपुरलाई धनकुटा नगरपालिकाले १–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेल उदयपुरले धर्मदेवीलाई २–१ गोल अन्तरले हराएको छ । तेस्रो खेलमा पथरी नगरपालिकाले म्याङ्लुङ नगरपालिकालाई टाईब्रेकरमा ९–८ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । शुक्रबार पहिलो सेमिफाईनल खेल कन्काई नगरपालिका भर्सेस चौदण्डी नगरपालिका उदयपुर बीच हुने छ भने दोस्रो खेल धनकुटा भर्सेस पथरी बीच हुने आयोजकका अर्जुन गुरुङले जानकारी दिए ।
मादी नगर खेलकुद विकास समितिको आयोजनामा मादी क्याम्पसको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष नरेश जिमिले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख विस हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी उप–विजेताले नगद असी हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शनिवार सम्म सञ्चालन हुने छ ।