जिल्ला अस्पताल संखुवासभामा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको सहयोगमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आयोजनामा तीन दिने निशुल्क कान र अपांगता समस्या भएका नागरिकको स्वास्थ उपचार सम्बन्धि शिविर सम्पन्न भएको हो ।
ग्रामिण भेगमका नागरिकका लागि स्वास्थ्य सेवा दिने उद्देश्यले निशुल्क स्वास्थ्य शिबिर गरिएको गोर्खा वेल्फेयर ट्रष्टले जनाएको छ । गोर्खा वेल्फेयर ट्रष्ट र जिल्ला अस्पताल संखुवासभा,स्वास्थ्य कार्यालयको सहयोगमा अपांगता नापजाँच तथा कृतिम अंग सामग्री वितरण गरिएको छ । शिबिरमा कानको अप्रेसन, अपांगता नापजाँच तथा कृतिम अंग र अपांगता सहयाता सामग्री बितरण गरिएको थियो । शिविरमा कानको अप्रेसन ३८ जना , श्रवणयन्त्र वितरण १ सय ९८ जना, अपांगता नापजाँच ६४ जना, कृतिम अंग वितरण २२ जना र सहयोगी सामग्री ५५ जनालाई वितरण गरिएको गोर्खा वेल्फेयर ट्रष्ट शिविरका प्रोजेक्ट म्यानेजर जया लिम्बुले जानकारी दिनुभयो । शिविरमा उपचार हुन नसकेका अन्य २४ जनालाई धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौं रेफर गरिएको लिम्बुले बताउनुभयो । जिल्ला बाहिर रेफर गरिएका विरामीको समेत निशुल्क उपचार र यातायात दिइने बताइएको छ । हात,खुट्टा र औला नभएको विरामीको समेत नापजाँच अनुसारको कृतिम अंग निशुल्क वितरण गरिने लिम्बुले बताउनुभयो । शिविरमा जिल्लाभरका ५ सय भन्दा बढीले सेवा लिएको गोर्खा वेल्फेयर ट्रष्टले जनाएको छ । बैशाख २३ गते देखि सुरु भएको स्वास्थ्य शिविर २५ गते सम्पन्न भएको छ ।